काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको टोली लुम्बिनी लायन्सले बुधबार भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। घिमिरे यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा पनि सीईओको रूपमा रहेकी थिइन्।
उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यलाई थप स्पष्ट दिशा दिने लायन्सको अपेक्षा छ। क्यानबाट अलग भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतियोगिताहरूमा परामर्शदाताको रूपमा कार्य गर्दै आएकी घिमिरेको साथले लायन्सको व्यवस्थापन अझ सुदृढ बन्ने टोलीले विश्वास जनाएको छ।
लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समपर्णले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउने बताए। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लायन्सले एनपीएल पहिलो सिजनमा खासै प्रभाव जमाउन सकेको थिएन। टोली अंकतालिकामा पुछारमा थियो।


