काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारणलाई रोकतोक नगरी कुमारीघर पुगेका छन्। राष्ट्रपतिको सवारीका बेला सर्वसाधारणको आवागमन बन्द गर्दा विरोध भएपछि राष्ट्रपतिको चाहनाअनुसार नै सुरक्षा व्यवस्था मिलाएर सवारीलाई रोकतोक नगरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति कुमारीघरमा प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई रोक लगाइएको थिएन। एउटा मात्र गाडी लिएर दिउँसो ४ बजे पौडेल कुमारीघर पुगेका थिए।
नागरिकलाई दु:ख दिने काम आफूबाट नहुने पौडेलले प्रतिबद्धता जनाएका थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै पशुपतिनाथको दर्शन गर्न जाँदा सवारी आवागमनलाई ठप्प बनाइएपछि पौडेलको आलोचना भएको थियो। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका हरेकजसो सवारीमा आवागमन ठप्प पारिँदा तीव्र आलोचना हुने गरेको थियो।


