काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा बुधबार नयाँ दिल्ली पुगिसकेका छन्। भारत भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदरावाद हाउसमा वान टु वान र सामूहिक भेटवार्ता गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच बिहान ११ः५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई प्रधानमन्त्रीबीच आधा घन्टा बेग्लै छलफल गरेपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन, व्यापार तथा पारवहन एवं हवाई रुटबारे छलफल हुने बताइएको छ।
भ्रमणमा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुनेछ। भेटवार्तापछि आजै केही परियोजना उद्घाटन र पत्रकार सम्मेलन आयोजना गरिँदै छ। पत्रकार सम्मेलनलाई प्रचण्ड र मोदीले सम्बोधन गर्नेछन्।
मोदीसँगको वार्तालापपछि प्रधानमन्त्री प्रचण्डले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने तालिका बनेको छ। साढे ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। यस्तै, प्रधानमन्त्री प्रचण्डले बेलुकी साढे ५ बजे नेपाल–भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ।
भारत भ्रमणका क्रममा भोलि तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन्। त्यसपछि इन्दोर जाने गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्ड भ्रमणको चौथो दिन अपराह्न ४ः२० बजे नयाँदिल्लीबाट काठमाडौं फिर्ता आउनेछन्।
चारदिने भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका थिए।
