काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीहरूको खर्च विवरण सार्वजनिक गरेको छ।
पछिल्ला दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवरण हेर्दा ओली मितव्ययी देखिएका छन्।
तथ्यांकअनुसार ओलीले प्रधानमन्त्रीको रूपमा प्रचण्डभन्दा २ करोड रुपैयाँ कम खर्च गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अघिल्लो आर्थिक वर्ष (२०८०/०८१)को तुलनामा गत आव २०८१/०८२ मा २ करोड रुपैयाँ कम खर्च भएको पाइएको हो। अघिल्लो आर्थिक वर्ष प्रचण्ड प्रधानमन्त्री थिए भने गत आर्थिक वर्षभर ओली प्रधानमन्त्री रहे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गत आवमा ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ खर्च भएको थियो।
२०८१ असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसलगत्तैको २०८१ साउन १ देखि असार मसान्तसम्ममा प्रधानमन्त्री कार्यालयमा ४ करोड १४ लाख खर्च भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त खर्च विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ खर्च भएको थियो। त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए।
प्रचण्डको कार्यकालको तुलनामा ओलीको कार्यकालमा २ करोड ६ लाख ६४ हजार २५३ रूपैयाँ अर्थात् ३३.२६ प्रतिशत कम खर्च भएको छ।
प्रचण्डको कार्यकालमा वैशाखदेखि असारसम्म तीन महिनामा मात्र २ करोड २५ लाख १८ हजार ४५ रूपैयाँ खर्च भएकोमा ओलीको कार्यकालमा पछिल्लो तीन महिनामा १ करोड ३३ लाख ६२ हजार ९८६ रूपैयाँ खर्च भएको पाइएको छ।
यसपटक पारिश्रमिकमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ, पोशाकमा ५ लाख ३९ हजार ९० रूपैयाँ, सञ्चार महसुलमा ६० हजार रूपैयाँ, इन्धनमा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च भएको छ।
त्यसैगरी, सवारी साधन मर्मतमा ५७ लाख २२ हजार ९७६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा १४ लाख ३६ हजार २९८ रूपैयाँ, अनुगमन मूल्यांकनमा ३३ लाख ५२ हजार ३०५ रूपैयाँ र विविधमा १ करोड २४ लाख १ हजार ५३७ रूपैयाँ खर्च भएको छ।
त्यसैगरी, तत्कालीन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ, पोशाकमा ४ लाख ८८ हजार २१० रूपैयाँ, सञ्चार महसुलमा ७९ हजार रूपैयाँ, इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च भएको थियो।
त्यसैगरी, सवारी साधन मर्मतमा ५९ लाख ५० हजार ९२६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा ५१ लाख रूपैयाँ, अनुगमन मूल्यांकनमा २१ लाख ९४ हजार ९६१ रूपैयाँ र विविधमा १ करोड ६९ लाख १३ हजार ८८९ रूपैयाँ खर्च भएको थियो।
ओलीले कम विदेश भ्रमण गरेका कारण खर्च कम देखिएको हो। अर्कोतर्फ, प्रचण्डको कार्यकालमा राजनीतिक भेटघाट, कार्यक्रम, भ्रमण र सचिवालय विस्तारमा बढी खर्च गरिएको अनुमान गरिएको छ।


