भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक भैरहवामा सम्पन्न भएको छ। संसद्को चालु अधिवेशनको समीक्षा, कुलिङ अफ पिरियड, संवैधानिक निकायको काम कारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
बैठकपछि उनले संसद्मा रास्वपाले नेपाली जनताको मुद्दा स्थापित गराउन सफल रहेको बैठकको निचोड निकालेको बताए। यस्तै भिजिट भिसा आवरणमा भएको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करीको मुद्दा संसद्मा स्थापित गर्न रास्वपा सफल भएको उनले बताए।
उनका अनुसार रास्वपा निजामती विधेयक, भ्रष्टाचारका मुद्दा, मालपोत प्रकरण लगायतका विषय अझै आन्दोलनमै छ।
‘अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेको विषयमा पनि हामीले बहुआयमिक पक्षबाट छलफल गरेका छौं,’ सञ्चारकर्मीसँगको कुराकानीमा परियारले भने, ‘संसद् जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायिकामा पनि कार्यपालिकालगायत अन्य पार्टीको हस्तक्षेप, संसद्मा निजामती सङ्घीय विधेयकमाथि जुन प्रकारको आक्रमण भयो, कुलिङ अफ पिरियडमा जुन किसिमको बेइमानी भयो त्यसको विषयमा रास्वपाले जनताका मुद्दा संसद्मा स्थापित गराएको छ।’
रास्वपाले अहिले गरिरहेको हस्ताक्षर अभियानमा केन्द्रीय नेता तथा सांसदहरू भैरहवामा गएर अभियानमा सहभागी हुन आएको परियारले बताए। उनले भैरहवा विमानस्थल सञ्चालनदेखि लुम्बिनीका पर्यटन व्यवसायीको मुद्दाप्रति रास्वपा गम्भीर रहेको र यसबारे संसद्मा कुरा उठाउने आश्वासन दिए।
भैरहवामा भएको बैठकमा भने आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको विषयमा भने कुनै छलफल नभएको उनको भनाइ थियो। उनले भने, ‘हामीले उम्मेदवारीको लागि आह्वान गरेका छौँ, र यो पार्टीको विषय भएकाले रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा संसदीय बैठकमा छलफल भएन।’
उनले अबको आन्दोलनलाई अझ फराकिलो दायरामा गर्ने बताउँदै भ्रष्टाचारको विरोध सडक र सदनबाट गर्ने जिकिर गरे। उनले तत्कालकै लागि पार्टीको संसदीय दलको नेता परिवर्तन नगर्ने सङ्केत पनि गरे।
आगामी कात्तिकमा रुपन्देही-३ मा उपनिर्वाचन हुने भएकाले रास्वपाले संसदीय दलको बैठक पनि भैरहवा पुर्याएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै भएकाले उतै बैठक राखिएको रास्वपाको भनाइ छ।
पार्टीका सभापति रवि लामिछाने भैरहवास्थित कारागारमा रहेका कारण पनि उसले बैठक भैरहवामा पुर्याएको हो। भैरहवामा बैठक राख्दा जेलमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटेर सांसदहरूले परामर्श पनि लिने मौका पाएका छन्। मंगलबार पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले पार्टी सभापति लामिछानेलाई भेटेर सल्लाह गरेका थिए।


