काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्।
शुक्रवार र शनिवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर सहमति गरेपछि उनले आइतवार पत्रकार सम्मेलन गरी राजीनामा दिने घोषणा गरेका हुन्।
बागमती प्रदेश प्रमुखको कार्यालयमा उने राजीनामा पेस गरेको जानकारी दिए। आफूले पार्टी सभापतिको कुरा मानेर राजीनामा दिएको उनको भनाइ छ।
‘संविधानले त मलाई मुख्यमन्त्री त अझै सुनिश्चित नै गरेको थियो। तर पार्टीभित्रको बृहत छलफलपश्चात विधि मूल्य र मान्यतालाई आधार मानेर,’ उनले भनेका छन्, ‘त्यतिमात्र होइन पार्टी सभापतिले देउवासँगको छलफलमा राजीनामा गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेकाले त्यसलाई शिरोधार्य गर्दै राजीनामा दिने निर्णय गरेको हुँ।’
इमानदारीको लडाइँमा पराजित हुनुपर्दा आफूलाई कुनै आत्माग्लानि नभएको उनको भनाइ छ। उनले आफूलाई इमान्दारी, सच्चाइ र पारदर्शीताको परीक्षामा सफलता मिलेको बताए।
‘पटकपटक मैले आफ्नो इमान्दारी, सच्चाइ र पारदर्शीताको परीक्षा दिएको छु। त्यसमा मलाई सफलता मिलेको छ,’ लामाले भनेका छन्। उनले आफूबाट कतै गलत नभएको र बदमासी नभएको पनि बताए।
‘मैले कहीँकतै गलत हुँन दिइँन, बदमासी भएन, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन । के यो नै मेरो कमजोरी हो र ?’, उनले प्रश्न गरेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको शर्त पूरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन्।
देउवाले आफ्नो शर्त मान्न तयार भएपछि आइतबार लामाले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने भएका थिए। शनिवार लामाले देउवासँग बुढानीलकण्ठमा कुराकानी गरी आफ्ना शर्त अघि सारेका थिए।
लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिनुपर्ने शर्त लामाले राखेका थिए। उक्त शर्त मान्न देउवा तयार भए। आफ्ना शर्त मान्न देउवा नै तयार भएपछि लामा पदत्याग गर्न सहमत भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए।
छलफलमा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा भर्खरै चुनिएका इन्द्र बानियाँ पनि उपस्थित थिए।
‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ। सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भनेका थिए, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो।’
आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक राख्ने र त्यसपछी पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्ने उनको भनाइ छ।
मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। दलको नेतामा हारेपछि राजीनामा दिन उनीमाथि दबाब बढेको थियो।
यसअघि शुक्रबार लामा र देउवाबीच कुराकानी भएको थियो। शनिबार बानियाँ र लामापक्षीय १५ जना सांसद देउवासँगको कुराकानीमा सहभागी थिए।
उता लामाको संसदीय दलका नेताको पद खुस्किएपछि पनि मन्त्री नियुक्त गरेकाहरुलाई शपथ खुवाउने मिति तोकेपछि एमालेले मन्त्री नियुक्त नगर्न दबाब दिएको थियो।


