२०८३ कार्तिक १६ गते आईतबार

यी हुन् माओवादी स्थायी कमिटीले पारित गरेका प्रस्ताव [सूचीसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
maoist_standing

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। साउन १६ गते सुरु भएको पार्टीको बैठक साउन १९ गते (आज) सम्पन्न भएको हो।

सहकारीपीडितको बचत रकम फिर्ता गरी दोषीमाथि कारवाही, श्रमिकको न्यूनतम ज्यालावृद्धि, जग्गा हडप्न घुस डिल गर्ने मन्त्रीमाथि छानबिन गर्न माग गर्नेलगायतका प्रस्ताव स्थायी कमिटीले पारित गरेको छ।

बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताए।

‘गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ। सामूहिक रूपले प्रतिबद्धता गरेका छौँ,’ उनले भने, ‘पार्टी एकताबद्ध भएको छ। हामी सामूहिक प्रतिबद्धता गरेका छौँ।’

उनका अनुसार, पार्टी फेरि एक पटक जनतामा जाने गरी निर्णय भएको छ। मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका निम्ति फेरि आन्दोलन गर्ने निर्णय पनि भएको बैठकपछि प्रचण्डले जानकारी दिए।

‘लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण, गणतन्त्रको सुदृढीकरणका लागि निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो,’ प्रचण्डले भने, ‘यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो। त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ।’

उनले पार्टी अब एकबताबद्ध भएको दाबी गरे।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक (साउन १६ देखि १८ सम्म)ले पारित गरेका राजनीतिक प्रस्ताव
(१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवम् सामाजिक आन्दोलनमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ। र, उहाँहरुको आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने दृढ संकल्प गर्दछ।

(२) हाल तराई मधेशका अधिकांश क्षेत्रहरुमा देखिएको पानीको गम्भीर संकटप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। चुरे क्षेत्रको अन्धाधुन्ध दोहन, नीतिगत व्यवस्थापनमा उपेक्षा र जलस्रोतको व्यवस्थापनमा भएको उदासीनताले गर्दा किसानहरु रोपाई गर्नबाट बञ्चित भएका छन्। पानीका श्रोतहरु सुक्दै जानु, सिंचाईको समुचित व्यवस्था नहुनेु, चुरे विनाश, प्राकृतिक श्रोतको अवैध उत्खनन्, वन अतिक्रमणका कारण सिर्जित वातावरणीय असन्तुलनले गर्दा तराई मधेश आज भूगर्भीय संकटमा फसेको छ। यो सन्दर्भमा, तराई–मधेश क्षेत्रका कृषक जनताले भोगिरहेका जटिल समस्याप्रति सरकारको उदासीनता र बेवास्ताप्रति यो बैठक गहिरो चिन्ता प्रकट गर्दै खडेरीका कारण मारमा परेका कृषकहरुलाई तत्काल राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ। यसका साथै तराई मधेस क्षेत्रलगायत आत्मनिर्भर कृषि अर्थतन्त्र विकासका लागि दीर्घकालीन तथा अल्पकालीन योजना निर्माणको माग गर्दछ। हाम्रो पार्र्टी नेतृत्वको सरकारले अघि सारेको कृषिमा लगानी दशक योजनालाई कार्यान्वयनमा ल्याउन माग गर्दछ।

(३) चाडपर्वहरु नजिकिदै गर्दा जनताको उपभोग्य बस्तुहरुमा भएको मुल्यबृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएकोले तत्काल मूल्यवृृद्धि तथा कालोबजारी नियन्त्रण गर्न र सीमाबाट भित्रिने आम नागरिकलाई दुःख दिने कार्य बन्द गर्न सरकारसँग माग गर्दछ।

(४) लाखौं विद्यार्र्थी र समग्र राष्ट्रको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमाथि केही स्वार्थ समूहको प्रभावमा परेर गरिएको ढिलाइप्रति यो बैठक गम्भीर आपत्ती प्रकट गर्दछ। यसअघि शिक्षक महासंघसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तुरुन्त पारित गर्न बैठकले सरकारलाई आग्रह गर्दछ। साथै, नेपाल प्रहरीसम्बन्धी विधेयकलाई समेत शीघ्रता दिन माग गर्दछ।

(५) सहकारी ठगहरुलाई कार्बाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरुलाई संरक्षण गर्ने र पीडितहरुका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रवैयाको घोर भत्र्सना गर्दै पीडितहरुको बचत रकम फिर्ता गरी दोषीमाथि कडा कानुनी कार्वाहीको माग गर्दछ।

(६) पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गइरहेको तनावप्रति हाम्रो पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ। संयुक्त राष्ट्रसंघको दुई राज्य समाधान प्रस्तावलाई समर्थन गर्दै प्यालेष्टाइनी जनताको आत्मनिर्णयको अधिकारसहितको स्वतन्त्र एवम् सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ। साथै इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दछ। वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आव्हान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालहरुको सुरक्षाका लागि थप कुटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ।

(७) रसुवाको भोटेकोशी त्रिसुली नदीको बाढीमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट व्यक्त गर्दै घाइतेहरुको निशुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गर्दछ। राहत पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विपद पूर्व तयारीको काममा ध्यान दिन र बाढी प्रभावितहरुका लागि राहत प्रदान गर्न जोडदार माग गर्दछ।

(८) जाजरकोट, रुकुम लगायत भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा भैरहेको ढिलाईप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ।

(९) शान्ति सम्झौताको भावना र मर्मअनुरुप शान्ति प्रक्रियाका बाँकी कामलाई अगाडि बढाउन सरकारले सहजीकरणको लागि उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दछ।

(१०) रोपाइँ सत्र अन्तिम चरणमा पुगिसक्दा पनि किसानले मल नपाएको अवस्था अत्यन्त चिन्ताजनक छ। मलखाद आयात तथा वितरणमा विचौलियाको प्रभाव र भ्रष्ट चलखेलको बैठक भत्र्सना गर्दछ। कृषि, मल, बिऊको आवश्यकता अनुसार उपलब्ध गर्न र समयमा नै कृषि उपजको समर्थन मुल्य तोक्न माग गर्दछ।

(११) अनौपचारिक क्षेत्रका श्रमिकहरु न्यूनतम् ज्यालामा वृद्धि गर्न जोडदार माग गर्दछ।

(१२) देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरु समाधानका लागि कुटनीतिक पहल थप प्रभावकारी बनाउन माग गर्दछ। साथै सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न यो बैठक सरकारसमक्ष माग गर्दछ।

(१३) शक्ति पृथकीकरणको सिद्धान्त विपरित कार्यपालिकाबाट विधायिकामाथि गरिएको हस्तक्षेपको यो बैठक कडा भत्र्सना गर्दछ। संघीय निजामती सेवा विधेयकमाथि प्रधानमन्त्रीले नेतृत्व गर्ने पार्टीद्वारा गरिएको अवैध निर्देशन तथा विधायन प्रक्रियामाथिको प्रहार अस्वीकार्य छ। यसप्रति गम्भीर सरोकार व्यक्त गर्दै सम्बद्ध निकायका चासोलाई सम्बोधन गरी विधेयक तुरुन्त पारित गर्न सरकार समक्ष जोडदार माग गर्दछ।

(१४) सरकारद्वारा भूमाफिया तथा बिचौलियाहरुको स्वार्थमा भूमिसम्बन्धी विधेयक ल्याउने षडयन्त्र भइरहेकोमा गम्भीर आपत्ती व्यक्त गर्दै भूमहीन, सुकुम्वासी जनतालाई तत्काल न्याय दिने गरी अग्रगामी रुपान्तरणका पक्षमा भूमिसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्न माग गर्दछ।

(१५) सरकारकै मन्त्रीहरुमाथि भ्रष्टाचारको आरोप लागिरहँदा समेत छानबिनको प्रयत्न नगिरनुबाट सुशासनप्रति राज्यको जवाफदेहिता शून्य भएको पुष्टी भएको छ। यो बैठक सरकारका सुशासनविरोधी कदमको विरोध गर्दै आरोपित मन्त्रीहरुमाथि छानबिनको माग गर्दछ।

(१६) उखु किसानलाई दिइँदै आएको अनुदानमा गरिएको ५० प्रतिशत कटौतीको यो बैठक कडा विरोध गर्दछ। किसानलाई तत्काल न्याय दिनु पर्ने माग गर्दछ।

(१७) सरकारबाट पाउनुपर्ने बक्यौता रकम अझै प्राप्त नगरेका दुग्ध किसानहरू गम्भीर समस्यामा परिरहेका छन्। बैठकले तिनीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन माग गर्दछ।

(१८) जहाँ सरकार, त्यहाँ व्यापक भ्रष्टाचार अहिले पर्यायवाची बनेका कारण आमजनतामा चुलिँदो आक्रोशलाई बैठकले गम्भीररूपमा लिन्छ। भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्दै, सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न यो बैठक माग गर्दछ।

(१९) ऐतिहासिक बलिदानबाट प्राप्त महिलाहरुका संवैधिनिक अधिकारमाथि विभिन्न तवरले हस्तक्षेप गर्दै लैगिक समानता विरोधी कानून निर्माणका प्रयासहरुको कडा विरोध गर्दछ। राज्यबाटै महिलाविरोधी व्यवहार तत्काल अन्त्य गर्दै, ‘छाउपडी’ र महिलामाथिको हिंसाविरुद्ध राष्ट्रव्यापी अभियान घोषणा गर्न सरकारसँग माग गर्दछ।

(२०) जातीय विभेद र आर्थिक शोषणको दुश्चक्र झेलिरहेका दलित समुदायमाथि राज्यबाट भइरहेका विभेदहरूको यो बैठक घोर भत्र्सना गर्दछ। दलित समुदायका संवैधानिक अधिकार कार्यान्वयन गर्न दलित एन तर्जुमा तथा विशेषाधिकार सम्पन्न दलित विकास प्राधिकरणको तुरुन्त स्थापना गर्न सरकारसमक्ष माग गर्दछ।

(२१) विद्युत क्षेत्रमा आत्मनिर्भरता र निर्यातको पर्याप्त आधार तयार भएको अवस्थामा दलाल र विचौलियाको स्वार्थमा गरिएको राजनीतिकरणप्रति बैठक कडा आपत्ति व्यक्त गर्दछ। कतिपय क्षेत्रमा पुनः लोडसेडिङ देखा परिरहेको, विगतमा अत्यन्तै न्यून अवस्थामा पुगेको विद्युत चुहावट उल्लेख्यरुपमा बढेको सन्दर्भमा विद्युत क्षेत्रको सुशासन र पारदर्शिता कायम गर्न बैठक जोडदार माग गर्दछ।

(२२) त्रिभुवन विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थानमा मेरिटोक्रेसीको उल्लंघन गर्दै दलगत हस्तक्षेप गरिनु अत्यन्त दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले गम्भीर आपत्ति प्रकट गर्दछ। शिक्षा क्षेत्रमा दलगत स्वार्थको अन्त्य गर्न तथा राष्ट्रीय आवश्यकता अनुरुप दक्ष जनशक्ति निर्माण गर्न उच्च शिक्षा क्षेत्रका विकास गर्न यो बैठक माग गर्दछ।

(२३) संवैधानिक निकायहरूमा गरिएको हस्तक्षेप, चयनमुखी अनुसन्धान तथा अभियोजन प्रक्रिया अन्त्य गर्न माग गर्दछ।

(२४) निर्वाचन आयोग लगायत संवैधानिक निकायहरूमा रिक्त पद पूर्तिप्रति सरकारको बेवास्ताप्रति खेद प्रकट गर्दै तत्काल पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गर्दछ।

(२५) युवा उद्यमशीलता प्रवरद्धन गर्न अघि सारिएको स्टार्टअप कार्यक्रमको बजेट घटाइनु तथा विनियोजित बजेट समेत कार्यकर्तालाई रकम बाँड्ने संयन्त्रकारुपमा विकास गरिएकोमा आपत्ती व्यक्त गर्दै वैज्ञानिक प्रणालीमार्फत सिर्जनशीलता र नवप्रवर्तनका युवा सोच तथा अवधारणामा आधारित परियोजनाहरुलाई लगानी गर्न माग गर्दछ।

(२६) सरकारले दलाल र बिचौलियाका पक्षमा एकपछि अर्को गर्दै चालेका जनविरोधी कदमको निन्दा तथा भर्त्सना गर्दै सुशासन, जनतन्त्र र जनजीविकासँग जोडिएका मुद्दाहरूमा एक भई अघि बढ्न सबैमा हार्दिक अपील गर्दछ।

प्रकाशित: २०८२ साउन १९ गते सोमबार ०३:५३
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना