भारतीय प्रतिस्पर्धीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई विमानस्थलमा सम्मान गरिएको छ।
च्याम्पियन बनेर स्वदेश फर्केका उनलाई विमानस्थलमा नै स्वागत गरिएको हो।
शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका थिए। रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन्।
मिक्स मार्सल आर्ट्स (एमएमए) मा आक्रामक फाइटिङ र रेस्लिङको नामले परिचित ढाँटले तेस्रो राउन्डमा कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्। ढाँटले गरेको लगातारको प्रहारपछि कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका थिए।
यस जितसँगै रवीन्द्रको प्रोफेसनल रेकर्ड ८–१ पुगेको छ। भारतीय च्याम्पियन रहेका कोरेनको लगातार ५ पटकको जितलाई रवीन्द्रले पूर्णविराम लगाएका हुन्।
शक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रको शान्त संयम र कुशल रणनीतिका अगाडि टिक्न नसकेपछि उपविजेतामा चित्त बुझाए।
रवीन्द्रको जितपछि रंगशाला उत्साहले भरिएको थियो। पिजरमाथि नेपाली झन्डा फहराइएका थिए। बझाङको बित्थडचिर गाउँपालिकाका रविन्द्रको सफलतामा उनका समर्थकहरूले सामाजिक सञ्जालमा खुसियाली व्यक्त गरेका छन्।
उनीलाई प्रधानमन्त्री केपी ओलीले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।


