काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएर नयाँ जर्सी सार्वजनिक गरिएको हो।
नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो।
नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी-२० सिरिज खेल्दैछ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ।
यता टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। क्यानले आइतबार एक कार्यक्रम गर्दै टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो। टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ।
सिरिजमा पाकिस्तान र बंगलादेशका ए टिमसहित विभिन्न टोलीसको सहभागिता छ। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। यसलाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा हेरिएको छ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम छन्।
तस्बिरहरू
बिदाइका तस्बिरहरू
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


