सदनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तै प्रकृतीको मुद्धामा अरु व्यक्तिहरु पनि जेलमा रहेको जिकिर गर्दै पूर्वमन्त्री, सांसद र बहालवाल मेयर लगायतका विभिन्न व्यक्ति थुनामा रहेको बताए। ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?’ ओलीले भने।
भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
‘यसरी एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो? त्यो चाहिँ कानुनी कारबाही नै हो ? अर्बौं रकम अपचलन गरेर थुनामा रहेका सयौं व्यक्तिमाथि प्रतिशोध भएको हो? कुन कुन मान्छेमाथि प्रतिशोध भएको हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्नेछ। यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्रै होइन दया लाग्ने खालको छ।’
सहकारीमा भएको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको बताउँदै उनले कसैलाई राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजेको आरोप प्रधानमन्त्री ओलीले लगाए।
‘सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा चलिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहेका दर्जनौं व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अदालतले थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ।’


