गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे।
लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि उनले बताए।
उनले लगातार रुपन्देही कारागार प्रशासनसँग समस्या समाधानका लागि केही गर्नुपर्ने भए आफूले सोधखोज गरिरहेको बताए।
‘अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ। जेलहरू कन्जेस्टेड छन्। उहाँलाई सानै भए पनि अलग्गै कोठामा राखिएको छ। उहाँ बस्नुभएको छ,’ लेखकले भने, ‘उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ। उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन। तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन।’
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने पनि उनले बताए।
कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको उनले बताए। ‘कारागार सार्ने कुरा अघि बढेको छ,’ लेखकले भनेका छन्।


