काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब केन्द्रदेखि सबै प्रदेशमा कांग्रेससहितको गठबन्धनबाट सरकार बन्ने बताएका छन्। काठमाडौंमा भएको एक कार्यक्रममा थापाले पुस १० मा अस्वाभाविक रूपमा एमाले गठबन्धन बनेकोले त्यसलाई भत्काइएपनि अबको बाटो भने सजिलो नभएको बताए।
गत चुनावमा पाँचदलीय गठबन्धन सँगसँगै गएको र जनतासँग विकास, सुशासन र समृद्धिका वाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वाभाविक हुने उल्लेख गरे।
‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं। यो हुनैपर्थ्यो। जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन। काम गर्नुपर्छ, काम गर्न सकिएन भने कसैलाई दोष दिने ठाउँ पनि बाँकी रहँदैन,’ उनले भने।
चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुका पछाडि केपी शर्मा ओलीले संसदमा दिएका अभिव्यक्ति रहेको पनि थापा बताउँछन्।
‘संसदको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभयो तर कुनै तीतो सन्दर्भ उठाउनुभएन। त्यसपछि बोल्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका घटना सही थिए र पटकपटक हुन्छ भन्ने कुरा राखेकोले पुस १० को गठबन्धन टिक्दैन भनेर राजनीतिक सोच सबैमा आएको हो,’ उनले भने।
उनले ८ दलीय गठबन्धनभित्र भएको सहमति पालना गर्नुपर्ने तर धेरै बैठक मात्र आवश्यक नपर्ने पनि बताएका थिए।
