नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ।
लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए पछि नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट हुन विवश भयो।
एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए भने काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक सटहरू खेल्दै २६ रनमा बनाउन सफल भएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा गएको नेपाली टोलीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।
नेपालले यस खेल सकिए लगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि टी–२० र एक वान डे खेल खेल्नेछ।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ।


