काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वमा चीन जान लागेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको भ्रमण अनुमोदन गरेको हो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली चीनको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन्। उनलाई चीनका राष्ट्रपति सी चिनफिङले मैत्रीपूर्ण निमन्त्रणा पठाएका थिए। ओली नेतृत्वको टोली शनिबार चीन प्रस्थान गर्ने तयारीमा छ।
एससीओ शिखर सम्मेलनलाई विश्वकै प्रभावशाली क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यको मञ्च मानिन्छ। नेपालले यस सम्मेलनमा उच्चस्तरीय सहभागिता जनाउन लागेको अवस्थामा, यो भ्रमणले नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका साथै सम्मेलनमा सहभागी अन्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने तालिका छ।


