काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दै गएको छ । खराब कर्जा बढेपछि बैंकहरुको नाफामा ठूलो असर परेको छ।
खराब कर्जा बढेका बेला नियामक निकाय नेपाल राष्ट्र बैंकले १० बैंकहरूको विस्तृत सम्पत्ति गुणस्तर समीक्षा गर्न बंगलादेशको लेखापरीक्षण संस्था हाउलदार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ।
प्राविधिक तथा वित्तीय प्रस्तावहरूको मूल्यांकनमा उच्चतम अंक प्राप्त गरेको हाउदार युनुससँग ऋणको पोर्टफोलिया समीक्षा गर्न सम्झौता गरेको राष्ट्र बैंकले विज्ञप्ति जारी जानकारी गराएको छ। राष्ट्र बैंकका अनुसार हउलदारले ७१.३४ अंक प्राप्त गरेको छ।
हउलदारले आउँदो पाँच महिनाभित्र १० बैंकको ऋण पोर्टफोलियोको समीक्षाको काम सक्ने जिम्मेबारी पाएको छ।
हाउलदार युनुसले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र दुई लाख ७१ हजार ६७० डलरमा जिम्मा पाएको हो।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा दिँदा विभिन्न १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नुपर्ने सर्तअनुसार राष्ट्र बैंकले परामर्शदाता कम्पनी छनोट गरेको हो।
आईएमएफले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर विस्तारित कर्जा सुविधा प्रदान गर्दा नै उक्त सर्त राखेको थियो । उसले विस्तारित कर्जा सुविधाअन्तर्गत पाँच किस्ताको भुक्तानी दिइसकेको छ।
विभिन्न १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने भने पनि बैंकको नाम भने खुलाएको छैन । आईएमएफले नेपालका बैंकहरूले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको छ। चालुपुँजी कर्जा मार्गदर्शन लागु गर्न आईएमएमएफले राष्ट्र बैंकलाई दबाब दिएको थियो।
पछिल्ला वर्ष बैंकिङ प्रणालीमा खराब कर्जा बढ्दै गएपछि वित्तीय क्षेत्र जोखिमतिर उन्मुख भएको ठहर आइएमएफको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खराब कर्जा अनुपात औसत ४.२२ प्रतिशत रहेको छ ।


