काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको आउन चार दिन बाँकी छ। भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ। पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ।
‘दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन्। तीमध्ये कसैको मृत्यु भएको,कसैले पार्टी छोडेका र कसैलाई पार्टीले कारबाही गरेकाहरूको सूची हटाइएको छ,’ गौतमले भने, ‘तर ती रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेमा छैन। अर्कोतिर दशौँ महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरू आयोजकको हैसियतमा रहनु हुन्छ।’
महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुँदैछन्।
केन्द्रीय कार्यलयले आइतबार नै सबै प्रतिनिधिहरूलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइ सकेको छ। केही प्रतिनिधिहरूको मोबाइल नम्बर अद्यावधिक नभएकाले सम्बिन्धत जिल्ला कमिटीहरूलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यलयले निर्देशन गरेको छ। पार्टीले विधान महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक,सांगठनिक र विधान छपाइको काम भइरहेको छ। यस्तै निर्वाचन,अनुशासन,लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ। प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ। एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ। प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलन मार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ।
परिचय पत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ। डा अधिकारीका अनुसार गोदावरी स्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ। ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ। खाना र खाजाका लागि हिजो नै एक ब्यांक्वैटलाई जिम्मा दिइएको छ।
महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ। विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरूले सातदोबाटो देखि गोदावरीसम्म स्वागतद्वार निर्माण र हँसिया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरेका छन्। ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गर्दैछ। यसैगरी भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायक सम्मका १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित ब्यान र चोक-चोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न अहिले बिहान महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बस्दैछ।


