काठमाडौं– संक्रमणकालीन न्याय सम्बन्धी विधयेक छिटो अघि बढाउन सत्तारुढ गठबन्धनमा आवद्ध १० दल सहमत भएका छन्। शनिबार साँझ बालुवाटारमा बसेको १० दलको बैठकमा संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक छिटो अघि बढाउने सहमति जुटेको एक नेताले जानकारी दिए।
भोलि आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा दुवै विधेयक पेश गर्ने तयारी छ। शनिवारको बैठकमा दुवै विधेयक अघि चाँडो अघि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य दलसँग सहयोग मागेका थिए।
यस्तै प्रधानमन्त्रीले सोमबार आफूले विश्वासको मत लिन लागेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरेका थिए। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता प्रधानमन्त्रीसँग छ।
राष्ट्रपति निर्वाचन पछि बनेको नयाँ गठबन्धनमा आवद्ध दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएका छन्। बालुवाटार बैठकपछि कांग्रेस कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधामन्त्रीलाई विश्वासको मत दिने विषयमा सबै दल सकारात्मक रहेको जानकारी दिए।


