काठमाडौं: सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवा (१९९७-२०१२) ले घोषणा गरेको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन्। हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान गरेका हुन्।
निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लंदै हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ।’
उनले शासकहरूले न त विधिको शासन दिन सकेको र न सामाजिक सञ्जालमा आफ्ना भावना बाँड्ने स्वतन्त्रता दिएको आरोप लगाउँदै भनेका छन्, ‘सत्ता र शक्तिको नशामा चुर यिनीहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ।’
सन्देशमा लामिछानेले सम्भावित उकासाहट र षड्यन्त्रप्रति पनि सचेत रहन आग्रह गरेका छन्। ‘घुसपैठ हुन सक्छ, सचेत हुनुहोस्। उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्,’ भन्दै उनले प्रदर्शनमा संयमता अपनाउन आग्रह गरेका छन्। आन्दोलनलाई ऐतिहासिक दिनको रूपमा उल्लेख गर्दै उनले लेखेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ।’
उनले नख्खु जेलको कालकोठरीबाट युवाहरूप्रति ‘शुभेक्षा, सद्भाव र ऐक्यबद्धता’ व्यक्त गरेको बताएका छन्।


