काठमाडौं: स्वास्थ्यमन्त्री प्रदीप पौडेलले केपी ओली क्याबिनेटबाट राजीनामा दिएका छन्। जेनजी युवाको प्रदर्शनीमा सरकारले गरेको दमनप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा घोषणा गरेका हुन्।
यसअघि कांग्रेसबाटै कृषिमन्त्री रामनाथ अधिकारी र जनता समाजवादी पार्टी (जसपा) बाट प्रदीप यादवले खानेपानी मन्त्रीबाट राजीनामा दिइसकेका छन्। कांग्रेसका अन्य मन्त्रीहरूले पनि राजीनामाको तयारी गरेका छन्।
सोमबारदेखि जारी प्रदर्शनीमा हिजो १९ जनाले ज्यान गुमाएपछि मंगलबार आन्दोलन थप चर्किएको हो। आन्दोलनका क्रममा देशव्यापी आगजनी र तोडफोड भएको छ। विशेषगरी तीन प्रमुख दलका नेताका निवास प्रदर्शनकारीको निशानामा परेका छन्। प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोट, कांग्रेस महामन्त्री रातोपुलस्थित निवासमा आगजनी गरेका छन्।


