काठमाडौं– जेनजी आन्दोलनले राजनीतिक दलका नेताका निवासलाई निशासा बनाइरहेका बेला राजनीतिक दलका उच्च नेताहरुले आफ्नो र आफ्ना परिवारका सदस्यको सुरक्षाका लागि ‘सुरक्षा हारगुहार’ सुरु गरेका छन्।
उनीहरुले प्रहरी तथा सेनाका प्रमुखहरुलाई टेलिफोन गरेर ‘यसको उचित प्रबन्ध मिलाउन’ आग्रह गरेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। सत्तारुढ दलका शीर्ष नेता केपी ओली र शेरबहादुर देउवाको घरमा आगजनी तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहालको घरमा ढुंगामुढा भएपछि काँग्रेस, एमाले र माओवादीका अन्य तहका नेताहरुले समेत प्रहरी र सेनालाई फोन गरेर हारगुहार गर्न सुरु गरेका हुन्।
‘नेताहरुको मात्र होइन, कतिपय उच्च कर्मचारीहरुले पनि सुरक्षा प्रबन्धका लागि आग्रह गर्नुभएको छ’, यस्तो बेला मिडियामा नाम नलेख्दिनुहोस् है भन्दै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘परिवार स्थानान्तरणको आग्रह गर्नेहरुलाई हामीले नेपाली सेनासँग कुरा गर्न सल्लाह दिएका छौं। बाँकी हाम्रो तहबाट हुने कुरा भइरहेको छ।’
आन्दोलनको दोस्रो दिन मंगलबार खासगरी मन्त्रि निवास भैसिपाटी, केही नेताहरुको निवास र प्रधानमन्त्री केपी ओली निवास बालुवाटारमा पटक पटक हेलिकोप्टरहरुको आवतजावत देखिएको छ।
यसमा चारवटै सुरक्षा निकाय परिचालित छन्। ‘सुरक्षा निकायले नेताहरुलाई सुरिक्षत स्थानमा राख्ने काम सुरु गरेको छ। यो काम हिजैदेखि सुरु भएको हो’, ती अधिकारीले भने, ‘यसमा सेनाका अधिकारीहरु पनि खटिएका छन्।’


