काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजीको आन्दोलनलाई समर्थन गर्दै रास्वपका सबै प्रतिनिधिसभा सदस्य (सांसद)हरूले सामूहिक राजीनामा दिएको प्रमुख सचेतक सन्तोष परियारले बताए।
वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्ष रास्वपाको छ। आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ सामूहिक राजीनामा दिने सचिवालयले निर्णय गरेको उनले बताए।
सामूहिक राजीनामा दिँदै रास्वपाले प्रधानमन्त्रीको राजीनामासहित ६ माग राखेको छ।
यस्ता छन् रास्वपाका मागहरू
१) प्रधानमन्त्रीको तत्काल राजीनामा
२) घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन
३) सर्वपक्षीय नागरिक सरकार
४) प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।
५) संविधान संशोधनको प्रक्रिया आरम्भ
६) ठूला भ्रष्टाचारका काण्डहरुको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन
प्रकाशित: २०८२ भदौ २४ गते मङ्गलबार ०२:१३