काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि ओली राजीनामा दिन बाध्य भएका हुन्।
ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। उनको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा स्वीकृत गरेसँगै उनी पदमुक्त हुनेछन्।
सरकारले दमन गरेपछि सोमबार मात्रै प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए। उक्त घटनापछि मंगलबार आन्दोलन झन् चर्किएको छ।
प्रदर्शनकारीहरूले शीर्ष नेताका घरलाई निशाना बनाउँदै आगजनी गरेका छन्। मंगलबार दिउँसो मात्रै प्रदर्शनकारीले संसद् भवनमा पनि आगजनी गरेका छन् भने उनीहरू सिंहदरबार प्रवेश गरेका छन्।


