काठमाडौं– राष्ट्रपति कार्यालयले हिजो विज्ञप्ति जारी गरेर वार्तामा आउन आव्हान गरेपछि आज बिहानदेखि जेनजी पुस्ताका झण्डै चार हजार भन्दा बढि सदस्यहरुले डिजिटल छलफल गरिरहेका छन्।
नेपाल क्लिक्स प्रतिनिधीले पनि भर्चुअल उपस्थिति रहेको सो बैठकमा जेनजी सदस्यहरुले सबैभन्दा बढि पछिल्लो सुरक्षा अवस्थाबारे चिन्ता व्यक्त गरिरहेका छन्। क्यानरी डिस्कोर्डको डोमेनमा भइरहेको यो बैठक, ‘यूथ एग्निस्ट करप्सन’भित्र ‘ह्वाट नेक्ट’ शीर्षकमा भइरहेको छ।
बैठकका अगुवाहरुले सेना परिचालन लामो समयसम्म हुन नहुने र डेमेक्रेटिक इन्ष्टिच्युसनहरु रिकभर हुनुपर्नेमा जोड दिएका छन्। ‘हामीले खोजेको भ्रष्टाचारको अन्त्य हो, डेमोक्रेसी प्रिभेल गर्छ। डेमोक्रेसी भएन भने हामीले यही आवाज कहाँ उठाउँने? आभा नामक एक अगुवाले बैठकमा राय राखेकी छिन्, ‘यस्तो बेला स्वतन्त्र खालको व्यक्तिले सरकारको नेतृत्व गर्न सक्छ। वार्तामा जाने साथीहरुले यो कुरा ख्याल गर्नुहोला। पर्सनल फ्रिडमलाई सर्त बनाउनुपर्छ।’
बिहानदेखि चलेको बैठकमा जेनजी प्रतिनिधीहरुले कतिपय नामहरुका विषयमा पनि छलफल गरेका छन्। एक अगुवाले भने, ‘साथीहरुले उठाएका नामहरु नोट गरेका छौं। यो काम लाग्छ।’
सहभागी कतिपय सदस्यहरुले संघीयताको रिभ्यू हुनुपर्ने, अपरहाउसको संरचना अलिक फरक तरिकाले हुनुपर्ने र देशको प्रशासनीक खर्चबारे पनि अवको सरकारले नयाँ नीति ल्याउनुपर्ने राय व्यक्त गरेका छन्। ‘पहिलो कुरा त यो जे जति क्षति भयो, यो हामीले गरेको थिएन। यसको इन्भेस्टिगेशन हुनुपर्छ’, प्रबेश–१२ का नाउँमा सहभागी सदस्यले भने, ‘रवि लामछिानेलाई जेल बाहिर ल्याउने कुरा पनि हामीबीच कहिँकतै डिस्कस भएको एजेन्डा थिएन। कसरी यस्तो भयो?’
बैठकका अगुवाहरुले वार्ताका लागि सम्पर्क प्रयास भइरहेको र केही मध्यस्थकर्ता सिनियरहरुले पनि सहयोग गरिरहेको जानकारी दिएका छन्। ‘कुराकानी भइरहेको छ। प्रेसिडेन्टसँग पनि कुराकानी होला आज’ रुपेशजी नामक सदस्यले भने, ‘कतिपय इस्युहरु छिटोछिटो सर्टआउट गर्नुपर्ने छ।’बैठक चलिरहेको छ।



