काठमाडौँ: मंगलबार जेनजी प्रदर्शनको क्रममा भवन जलेपछि त्रिपाल टाँगेर सर्वोच्च अदालतले सेवा दिने भएको छ। सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै आगामी भदौ २९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने जानकारी दिएका छन्।
जेनजी आन्दोलनले सर्वोच्च भवन जलेर क्षतिग्रस्त भएपछि अदालतले त्रिपाल टाँगेर सेवा सुचारु गर्ने तयारी गरेको हो। सर्वोच्चले गत मंगलबारको घटनाका क्रममा मृत्यूवरण गर्न पुगेका नेपाली नागरिकप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।
सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति दुःख व्यक्त गर्दै सर्वोच्चले नागरिकहरूको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरुका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको बताएको छ।
नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट भएको पनि विज्ञप्तिमार्फत् सर्वोच्चले जनाएको छ।
तथापि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै सेवा संचालन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


