काठमाडौँ: नेपाल ट्रेड युनियन कांग्रेसले जेनजी आन्दोलनकारीहरूका पूर्वघोषित योजना र भावना विपरीत केही स्वार्थ समूहबाट गरिएको अराजक गतिविधि भएको ठहर गरेको छ। त्यस प्रकारका घटनाको निन्दा तथा भत्र्सना गर्दै यस यस प्रकारको घटनाबाट मुलुकलाई समृद्धिका दृष्टिले दशकौं पछाडि धकेल्ने कार्य भएको ट्रेड युनियन कांग्रेसको ठहर छ।
बिहीबार ट्रेड युनियन कांग्रेस महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै यस प्रकारका सबै घटनाहरुको साथै जेनजी समुहले उठाएको भ्रष्टाचार निरुपणका खातिर पनि उच्च स्तरीय न्यायीक समिति छानबिन गरी दोषीहरु माथि कडा भन्दा कडा कारबाही गर्न अब बन्ने सरकारसँग जोडदार माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको घटना र परिवेशले मुलुकलाई अत्यन्तै तरल अवस्थामा पुर्याएको छ र तत्काल राजनीतिक निकास हुने विषयमा अन्यौलता समेत सिर्जना भएको छ। तसर्थ, नेपाल ट्रेड युनियन कांग्रेस श्रमिकहरूको एक जिम्मेवार ऐतिहासिक संगठनका हैसियतले यस किसिमको संवेदनशील अवस्थालाई यथास्थितिमा रहन नदिई शान्तिपूर्ण समाधानका लागि संवैधानिक लोकतान्त्रिक विधि र पद्धतिमा टेकेर राजनीतिक एवं न्यायोचित प्रक्रिया र संवादका माध्यमबाट नयाँ युवा पुस्ताले उठाएको संरचनागत सुधारका मागहरू समेत उचित ढङ्गले सम्बोधन हुने गरी तत्काल निकासको ढोका खोल्न र लोकतन्त्रको संस्थागत विकास एवं वर्तमान संविधानको रक्षार्थ संवैधानिक प्रक्रिया अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलहरूको नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिज्यू समक्ष अनुरोध गर्दै यस कार्यमा आवश्यक सहजीकरण गर्न मुलुकको जिम्मेवार निकाय एवं वर्तमान सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’


