काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले हालैका आन्दोलनका क्रममा उद्योग, प्रतिष्ठान, कार्यालय र निजी निवासमा भएका तोडफोड तथा आगजनी घटनाप्रति कडा भर्त्सना गरेको छ। महासंघले यस्तो घटनाले निजी क्षेत्रलाई ठूलो आर्थिक क्षति पुर्याएको उल्लेख गर्दै सरकारलाई उद्यम व्यवसाय निर्वाध सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको हो।
उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैया बराबरको क्षति भएको छ। यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ। यसैगरी, निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने उसको भनाइ छ।
आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न महासंघले माग गरेको छ।
निषेधाज्ञा एवं कर्फ्युको सामयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरूको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि महासंघले माग गरेको छ।
यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका महासंघले आग्रह गरेको छ।
यसैगरि गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरिएको छ। साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरेको छ।
अन्तराष्टिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन। अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वतावरण निर्माणका लागि महासंघले माग गरेको छ।
नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत निजी क्षेत्रको योगदान रहेको छ।


