काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधीवक्ता नियुक्त गरेकी छन्। जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रथम महिला प्रधानमन्त्री कार्कीले आइतबार भण्डारीलाई महान्यायाधीवक्ता नियुक्त गरेकी हुन्।
यससँगै नेपालले इतिहासकै पहिलो महिला महान्यायाधीवक्ताको पाएको छ।
उनी ९८ वर्षीय कानुनविद् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। नेपाल ल फर्ममा आवद्ध भई कानुनी अभ्यासमा रहेकी उनको लाइसेन्स नम्बर १६१ हो।
महान्यायाधीवक्ता सरकार अर्थात् प्रधानमन्त्रीका कानुनी सल्लाहकार हुन्छ। प्रधानमन्त्री बदलिएसँगै महान्यायाधीवक्ता नियुक्ति गर्ने गरिन्छ। यसअघि गत भदौ २४ गते केपी शर्मा ओलीले आन्दोलनकै बिच राजीनामा दिएका थिए। त्यससँगै भदौ २४ मा नै रमेश बडालले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएकोमा आइतबार राष्ट्रपतिले उन्क राजीनामा स्वीकृत गरेका हुन्।
बडालको राजीनामापछि प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्ति गरेकी हुन्। उनले आजै पाँच जना मन्त्री पनि नियुक्त गर्ने तयारी गरेकी छन्। आइतबार बिहानदेखि नै सम्भावित मन्त्रीहरूसँग उनले छलफल थालेकी छन्।


