काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी युवा (१९९७-२०१२) हरूको प्रदर्शनका कारण शासनसत्ता परिवर्तन भई पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। भदौ २७ मा बनेको अन्तरिम सरकारले गरेको संसद् विघटन राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ।
जेनजी युवाहरूको आन्दोलनले सरकार परिवर्तन भए पनि विद्यमान कानुनअनुसार यो उमेर समूहका धेरै युवाहरू निर्वाचनमा सहभागी हुन पाउने छैनन्।
मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन,’ भन्ने प्रावधान रहेको छ। कानुनी बाध्यताअनुसार चुनावको मिति घोषणा भैसकेपछि निर्वाचन आयोगले तुरुन्त मतदाता नामावली निर्माण प्रक्रिया बन्द गर्नुपर्ने हुन्छ।
जेन जीको आन्दोलनले चुनाव घोषणा भए पनि उनीहरूकै मताधिकारमा कानुनी अड्चन देखिएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनको प्रस्ताव गरेको छ। आयोगले तदाता नामावली ऐनको दफा ४ को संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ। उक्त दफामा आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने प्रावधान थप्न लागिएको हो।
१८ वर्ष उमेर पुगेका धेरै युवाहरुको नाम छुट्ने देखिएपछि आयोगले पुन: मतदाता नामावली संकलन गर्न कानुन संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। गृहले उक्त प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएपश्चात् अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिकहाँ पठाइनेछ।
मतदाता नामावली ऐन २०७३ संशोधन भएमा आयोगले कात्तिक मसान्तसम्म मतदाता नामवली संकलन गर्ने तयारी गरेको छ।
प्रकाशित: २०८२ असोज ५ गते आईतबार ०६:०५