काठमाडौँ- कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बनेका हुन्।
भक्तपुरको सानोठिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित गर्यो। निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बागमतीले आर्मीलाई २१–५ स्कोरले हरायो। दुवै समूहका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार हात पारे।
पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार पाए।
विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य हिक्मत थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पुरुष/महिलामा समान ७–७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ।
