काठमाडौँ- काठमाडौँ उपत्यकाभित्रका १४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन नहुने भएको छ। विद्यार्थीहरूबीच विभिन्न विषयमा विवाद र केही क्याम्पसमा तालाबन्दीका कारण ती क्याम्पसमा निर्वाचन नहुने भएको हो।
भोलि (आइतबार) देशभरका क्याम्पसमा स्ववियु निर्वाचन गर्ने भनी त्रिवि विद्यार्थी कल्याण महाशाखाले तय गरेपनि अधिकांश क्याम्पसमा विवादका कारण महााशाखाको चुनावी कार्यतालिका प्रभावित हुने भएको हो।
उपत्यकाका दुई क्याम्पसमा भने स्ववियुको कार्यसमिति निर्विरोध निर्वाचित भइसकेकाले निर्वाचनका कार्यक्रम गरिराख्न परेन। जयवागेश्वरीस्थित कैलाशकुट बहुमुखी क्याम्पस र थलीस्थित कान्तिपुर कलेजमा स्ववियूको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
हालसम्मको अवस्थाअनुसार उपत्यकाका २१ क्याम्पसमा भने आइतबार स्ववियु निर्वाचनअन्तर्गत मतदानको कार्यक्रम हुनेछ।
कुन क्याम्पसमा किन हुँदै छैन निर्वाचन?
कोटेश्वर क्याम्पसमा विवादका कारण आइतबार निर्वाचन हुने छैन। यद्यपि विवाद समधान गर्न निर्वाचन अधिकृत, क्याम्पस प्रमुख र विद्यार्थीबीच बैठक चलिरहेको छ।
मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा पनि आइतबारका लागि तोकिएको निर्वाचन कार्यतालिका प्रभावित भइसकेको छ। त्यहाँ पनि आइतबार मतदानको कार्यक्रम हुने छैन।
प्रदर्शनीमार्गस्थित वाल्मीकी विद्यापीठमा विवाद छ। विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा वाल्मीकिमा मनोनयन दर्तासमेत हुन सकेको छैन।
कागेश्वर मनोहरास्थित सहिद आदर्श क्याम्पसमा निर्वाचनका लागि आवश्यक सहमति जुट्नै सकेको छैन। आइतबारका लागि तोकिएको मतदानको कार्यक्रम त्यहाँ स्थगित भइसकेको छ।
प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा विद्यार्थीबीचको आन्तरिक विवाद चर्कँदै जाँदा मनोनयन दर्ता प्रवावित भइसकेको छ। भोलिको मतदानको कार्यक्रम त्यहाँ बिथोलिइसकेको छ।
कीर्तिपुरस्थित आयुर्वेदिक क्याम्पसमा विवाद भएकाले क्याम्पसमा तालाबन्दी गरिएका कारण त्यहाँ पनि मतदान हुने छैन।
एनआर क्याम्पस तारेकेश्वरमा विद्यार्थीहरुको सहमतिमा निर्वाचन स्थगित गरिएको छ।
प्रर्दशनी मार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच विवाद चर्कँदा मनोनयन दर्ता नै हुन सकेको छैन।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा पनि भोलि निर्वाचन नहुने भएको छ।
घण्टाघरस्थित त्रिचन्द्र कलेजमा विवादका कारण मनोनयन नै स्थगित गरिएको छ। तारेकेश्वरस्थित ग्रामीण क्याम्पसमा विवाद उत्कर्षमा पुग्दा लगाइएको ताला अझै खुल्न सकेको छैन।
यस्तै पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी खुल्न नसकेका कारण निर्वाचन हुने छैन।
नेपाल कमर्स क्याम्पस नयाँबानेश्वरमा निर्वाचन स्थगित गरी सकिएको छ। शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार निर्वाचन गर्न नसक्ने जनाएको छ।
कुन-कुन क्याम्पसमा हुँदैछ निर्वाचन?
–नर्सिङ क्याम्पस, महाराजगञ्ज
–त्रिवि क्याम्पस, किर्तिपुर
–चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज
–जनप्रशासन क्याम्पस, बल्खु
–इन्जिनियरिङ क्याम्पस, थापाथली
–काठमाडौं इन्जिनियरिङ क्याम्पस, कालिमाटी
–महेन्द्ररत्न क्याम्पस, ताहाचल
–ललितकला क्याम्पस, किर्तिपुर
–शंकरदेव क्याम्पस, बागबजार
–पद्मकन्या क्याम्पस, बागबजार
–पिपुल्स कलेज, पकनाजोल
–सरस्वती बहुमुखी क्याम्पस, लेखनाथ मार्ग
–एड्भान्स क्याम्पस, बल्खु
–पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर
–सानोठिमी क्याम्पस, भक्तपुर
–पुब्लिकयुथ कलेज, क्षेत्रपाटी
–ल क्याम्पस, भृकुटीमण्डप
–काठमाडौं इन्जिनियरिङ क्याम्पस, धापाखेल
–क्याथोड कलेज, बालकुमारी
–हिमालयन कलेज, बालकुमारी


