काठमाडौं – स्विडेन तथा एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट आइतबार राति संन्यासका घोषणा गरेका छन्।
इटालियन क्लब एसी मिलानको सिजनको अन्तिम खेलमा फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।
सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका ४१ वर्षीय इब्राहिमोभिचले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरेका हुन्। फुटबल केरियर सुरु गरेका २४ वर्षपछि उनले संन्यासको घोषणा गरे।
‘मैले फुटबललाई अलविदा भनेको हो तर तपाईलाई होइन,’ सान सिरो रंगशालामा अन्तिम खेलपछि इब्राहोभिचले आइतबार राति भनेका थिए। एकपटक युरोपेली फुटबलबाट हराइसकेका इब्राहिमोबिच केही वर्ष यता मिलानमा खेलिरहेका थिए। अमेरिकामा लिग खेलिरहेका इब्राहिमोविच २०१९ मा एसी मिलान फर्किएका थिए। तर, चोटका कारण उनले यस सिजनमा ४ खेल मात्र खेलेका थिए।
पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका छन। यसैगरी उनले शीर्ष डिभिजनको फुटबलमा नेरदल्यान्ड्स , इटली, स्पेन र फ्रान्स गरी चार देशमा उपाधि जितेका छन्।
सन् २०११ मा एसी मिलानबाट सिरी ए उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए। जहाँ उनले २०२१ मा मिलानलाई लिग जिताउन सहयोग गरे। मिलानसँग इब्राहिमोविचको सम्झौता यसै महिना सकिदैछ।
तर यस सिजन भने चोटसँग संघर्ष गरेका उनले जम्मा चार खेल खेले। त्यसमा एक खेलमा पहिलो रोजाइमा सुरु गरे ।
उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे। ‘मिलान सहरमा मेरो धेरै भावना छन्। फोर्जा मिलान र अलविदा,’ इब्राहिमोविचले खेलपछिको कुराकानीमा भनेका छन्,‘पहिलो पल्ट म यहाँ आउँदा मलाई खुशी दिनुभयो, दोस्रो पटक माया। तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो। तपाईले मलाई घरमा महसुस गराउनुभयो। म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु।’
प्रोफेसनल फुटबल केरियरमा इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन्। उनी ११ पटक बालोन डी’ओरका लागि मनोनित भएका थिए। करिब पाँच वर्षपछि राष्ट्रिय टिममा पुन फर्किएका उनी स्विडेनका लागि सर्वाधिक गोलकर्ता समेत हुन। उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन्।
उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग हो। सन् २०१७ मा उनले म्यानचेष्टर युनाइटेडबाट युरोपा लिगको भने उपाधि जिते।
इब्राहिमोबिचले सन् १९९९ मा होमटाउन क्लब माल्मोबाट खेल केरियर सुरु गरेका थिए। त्यसको दुई वर्ष पछि उनी आयाक्समा जोडिए।
