काठमाडौं । राजधानीको मुटु न्युरोड अचाक्ली साँघुरो भइसकेको छ। मान्छेलाई आवातजावात गर्नै समस्या हुँदै आएको छ। साँघुरोका कारण महाबौद्धका ५१९ व्यापारीहरुले यसको विकल्पकको रुपमा ठूलो लगानीमा वृहत आदर ट्रेड मल सञ्चालन गर्न लागेका छन्।
उनीहरुले आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी लिमिटेडमार्फत ठूलो भवन बनाउन सुरु भएको लामो समय भइसकेको छ। तर, अझै पुरा भएको छैन्। समय लम्बिँदै जाँदा परियोजना लागत पनि बढ्दै गएको छ।
महाबौद्धको बजारलाई मात्रै बल्खु लगियो भने त्यहाँ हुने भीडभाड कम हुन्छ।
बल्खुमा निर्माण भइरहेको आदार ट्रेड मलको अहिलेसम्म ६३ प्रतिशत वित्तीय प्रगति भएको निर्माता कम्पनी आदार मल्टिइन्भेष्टमेन्टलले जनाएको छ। ट्रेडमलको लागत १६ प्रतिशत बढेर नौ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यसअघि आठ अर्ब रुपैयाँमा मल सम्पन्न गर्ने लक्ष्य थियो।
लागत बढे पनि परियोजनाको आकारमा कटौती गरिएको छ। मूल योजनाअनुसार बिक्रीयोग्य क्षेत्रफल चार लाख २९ हजार ४८० वर्गफुटबाट घटेर तीन लाख ३२ ९४९ वर्गफुट तय गरिएको छ। क्षेत्रफल घटे पनि अनुमानित परियोजना लागत १६ प्रतिशत बढेर ९ अर्ब ३० करोड रुपैयाँ पुगेको रेटिङका लागि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ।
पहिला २१ सय पसलको पूर्वाधार बनाउने लक्ष्य लिएकोमा पछि घटाइएर दुई हजार ५९ मा झारिएको छ।
निर्माणाधीन मलमा ८/८ तल्लाका ११ वटा भवन निर्माण भइरहेको छ।
परियोजनाको लागत बढ्दै गएकाले आगामी दिनमा कम्पनीको नाफामा असर पार्ने संभावना छ। कूल ५१९ व्यापारी तथा व्यक्तिगत प्रवद्र्धकहरू रहेका छन्। जसमध्ये धेरैजसो काठमाडौंको महाबौद्ध क्षेत्रमा थोक व्यापार व्यवसायमा संलग्न छन्।
निर्माणाधीन ट्रेड मललाई महाबौद्ध क्षेत्रको विकल्को रूपमा परिकल्पना गरिएको छ।
भवन संरचना लगभग पूरा भए पनि धेरैजसो फिनिसिङको काम बाँकी छ। बुकिङ कम भएपछि फिनिसिङको काम रोकिएको छ।
मलको काम सन् २०२३ अन्तिममा सक्ने लक्ष्य भए पनि ढिलाइ हुन गएपछि यो वर्ष सम्पन्न गर्ने मिति तय गरिएको थियो। यो वर्ष पनि पुरा नहुने भएको छ। निर्माण सकिएका भवनमा महाबौद्धको बजार लगिने छ। बाँकी भवन बनिसकेपछि मात्रै महाबौद्धबाट सबै व्यापारीलाई त्यता सार्ने योजना छ।
‘क्राउड फन्डिङ मोडल’बाट सपिङ मल निर्माण गर्न लागिएको हो। कम्पनीले दुई अर्ब ८१ करोड ९० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनी प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेर थप लगानी जुटाउने लक्ष्य लिएको छ। आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरिसकेको छ।
यो नेपालकै सबैभन्दा ठूलो सपिङ मल हुने दाबी गरिएको छ । ट्रेड मल सहरको रिङ रोडको छेउमा सुविधाजनक रूपमा अवस्थित छ। चीनबाट भित्रिने हरेक सस्तो कपडाको होलसेल बजार महाबौद्ध हो। त्यहाँबाट देशभरि विभिन्न ठाउँमा कपडा लगिन्छ ।
महाबैद्ध क्षेत्रमा यातायात, गोदाम, पार्किङ, सामान ओसार पसार गर्न, घर भाडा र सुरक्षामा पनि दिन प्रतिदिन समस्या हुँदा २०७२ को भूकम्पपछि थोक व्यापारी संघ–संस्थाले सरकारलाई जग्गाको व्यवस्था गर्न आग्रह गरेका थिए।
आदर मल्टिइन्भेष्टमेन्टले व्यापारिक भवन बनाउन ‘सक्नेले आफ्ना लागि सकेको गर्ने अवधारण अगाडि बढाएको थियो। उक्त अवधारणमा इच्छुक व्यापारीहरुले सहभागी भई एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको कम्पनी तथा उनको परिवारका सदस्यको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुको ३६ रोपनी जग्गा खरिद गरेको हो।
आदार मल्टिइन्भेष्टमेन्ट सन् २०१७ मा स्थापना भएको हो। यो एक स्पेशस प्रपोज भेहिकल(एसपीभी) हो जसले हाल मध्य काठमाडौँको बल्खु क्षेत्रमा आदर ट्रेड मल नामक व्यावसायिक भवन विकास गरिरहेको छ।


