काठमाडौं। गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ। हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ।
आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताए। उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ।
“ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उनले भने।
रोशी खोलाको बाढीले त्यस क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो। मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो। योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए।

विपी राजमार्गमा डाइभर्सन बनाउन खोला फर्काउँदै
काभ्रेपलाञ्चोक, २४ असोजः गत साता रोशी खोलाको बाढीले विपी राजमार्गको विभिन्न स्थानमा करिब चार किलोमिटर सडक कटान गरेपछि अस्थायी सडक बनाउन काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ‘डाइर्र्भर्सन’ निर्माण गर्न रोशी खोला फर्काउँदै । शुक्रबार साँझसम्म क्षतिग्रस्त स्थानमा ‘ट्रयाक’ निर्माण सकिने तथा शनिबार बिहानदेखि पूर्णरुपमा यातायातका साधन सञ्चालनमा ल्याइने डिभिजन सडक कार्यालय भक्तपुले जनाएको छ । तस्बिरः राजकुमार पराजुली÷रासस
सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ। आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्ने उनले बताए। उहाँका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ।
बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो। सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्।


