चितवन। कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन्। झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको छ।
कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए। अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन्। नेपाल अण्डा उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल आठ वर्षअघि आफू केन्द्रीय अध्यक्ष हुँदा तीन हजारभन्दा बढी साना ठूला गरी लेयर्स कुखुरा पालक किसान रहेको बताउछन्।
पछिल्लो समय नेपाल लेयर्स कुखुरा पालक संघमार्फत किसानलाई संगठित गर्दै आएको समितिका सल्लाहकार कँडेल ८० प्रतिशत किसान विस्थापित भएको बताउछन्। उनका अनुसार साना किसान विस्थापित हुनुभयो, जोखिम मोलेर आएका ठूला किसानले बजारको मागलाई धानिरहेका छन्।
कँडेलको भनाइमा युक्रेन युद्धपछि दानाको कच्चापदार्थको मूल्य झण्डै दोब्बर बढेको, कुखुरालाई खुवाउने औषधिको मूल्य अस्वाभाविक बढेको, बैंकको ब्याजदर उच्च रहेको भए पनि अण्डाको लागत मूल्यसमेत नपाउँदा धेरै किसान पेसा छाडेर बाहिरिएका हुन्।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल आफूहरु पेसा छाड्ने वा संघर्ष गर्ने दुई विकल्पमध्ये अन्तिम लडाईंका लागि संघ गठन गरेर देशव्यापी रुपमा बजारीकरणमा जुटेका कारण अण्डाको मूल्य पूर्ववत् अवस्थामा फर्किन थालेको बताछन्।
व्यवसाय छाडेकालाई भन्दा रहेकालाई थप संघर्ष गर्नुपरेको भन्दै उनले अहिले भइरहेका धेरै किसान बैंकको ठूलो ऋणको भार बोकेर व्यवसाय टिकाएको बताउछन्। उनले भने, “अहिले पेशामा रहेका धेरैको सम्पत्तिले बैंकको ऋण पुग्दैन, तैपनि हामी संघर्ष गरिरहेका छौं।”
देशलाई यो क्षेत्रमा आत्मनिर्भर बनाउन आफूहरु जुटिरहेको भए पनि राज्यले उचित सहयोग नगरेको उनको गुनासो छ। पछिल्लो समय अण्डाले लागत मूल्य पाए पनि कुखुरा पाल्नसक्ने अवस्थामा धेरै नरहेको उनी बताउछन्।
पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने सरकारले नीतिगत सम्बोधन गर्नसकेमा र खुला सीमाबाट आयात हुने अवैध पोल्ट्रीजन्य पदार्थ नियन्त्रण गरेमा अहिलेसम्म टिकेका व्यवसायी अघि बढ्नसक्ने बताउछन्। सरकारले मागलाई सम्बोधन गर्नसक्यो भने आत्मनिर्भर बनाउन सक्ने उनको दाबी छ। नेपालमा अण्डा उत्पादन क्षेत्रमा निजी क्षेत्रको एक खर्ब रुपैयाँ बढी लगानी रहेको छ।
दुई लाखभन्दा बढी अण्डा वितरण गरिँदै
विश्व अण्डा दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा दुई लाख २५ हजारभन्दा बढी अण्डा वितरण गरेर मनाइँदै छ। दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा निःशुल्क अण्डा वितरण गर्न लागिएको हो।
सन् २०२५ को विश्व अण्डा दिवस नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरिनरी एशोसिएसनको संयुक्त आयोजना तथा नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशको सहआयोजना एवं युसेकको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसर पारेर बिहीबारदेखि देशका विभिन्न सामुदायिक विद्यालय, अस्पतालमा रहेका बिरामी र बिरामीका कुरुवा, आश्रयस्थलमा आश्रित लगायतलाई निःशुल्क अण्डा वितरण गरिने कार्यक्रम संयोजक त्रिलोचन कँडेलले बताए।
