काठमाडौं। बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो।
राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार उक्त राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउने छ।
सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्नेलगायत काम गरिएको छ। क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि सुरु गरिएको थियो। बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो।
साथै काभ्रेको कटुञ्जे, चारसय बेँसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो। त्यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक झोलुङ्गे पुलमा क्षति पुगेको न्यौपानेले जानकारी दिए।
.
