काठमाडौं। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका कारण क्षतिको बिमा कम्पनीहरुले दाबी भुक्तानी गरिहेका छन्। हालसम्म निर्जीवन बिमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेकोको नेपाल बिमा प्राधिकरणलेजनाएको छ।
आन्दोलनका क्रममा भएको भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।
बिमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ। हालसम्म कुल तीन हजार ९९ बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ।
कुल दाबीमध्ये सम्पत्ति बिमा छ सय ५३, मोटर बिमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा एक सय ९०, परिवहन बिमा १२ र अन्य बिमा ३८ रहेका छन्।
त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, बागमतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बिमा दाबी परेको छ। प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो।
प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सर्वाधिक बढी अर्थात् पाँच अर्ब ६१ करोड ४४ लाख रुपैयाँ बिमा दाबीको आवेदन परेको छ। सो कम्पनीले ५९ करोड ४४ लाख रुपैयाँ बिमितलाई भुक्तानी गरेको छ। त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्स लिमिटेडमा पाँच अर्ब २४ करोड ४७ लाख रुपैयाँ बिमा दाबीको आवेदन परेको छ। सो कम्पनीले पाँच लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बिमा दाबीको आवेदन परेको छ। सो कम्पनीले ३० करोड ४३ लाख रुपैयाँ बिमितलाई तिरेको छ।
यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई अर्ब ४० करोड ८६ लाख रुपैयाँ दाबी परेकोमा हालसम्म ३१ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।
मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बिमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको बिमा गरिएको छैन।
