वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ। यस अवधिमा कार्यालयले पेट्रोलियम आयातबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।
दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको छ। यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत हिस्सा रहेको छ।
त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट दुई अर्ब ५४ करोड अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ। सबै प्रकारका कपडाबाट एक अर्ब ९८ करोड अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ। वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
