काठमाडौं। पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) महरालाई आइतबार पक्राउ गरेको हो।
सीआईबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ। भन्सार ऐन २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरेको सीआईबीले जनाएको छ।
विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ ।
उनलाई विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।महरालाई प्रहरीले सुन तस्करीमा अनुसन्धान गरिरहेको थियो। राजनीतिक दबाबका कारण उनलाई पक्राउन गर्न सीआईबीले सकेको थिएन। महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
२०७९ सालमा भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख महरा संलग्न रहेको सीआईबीको आरोप छ। सुन छुटाउन महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको आरोप पनि लाग्दै आएको छ।
घटनाक्रमअनुसार २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशमा ७३० थान भेप ल्याएका थिए। भेपमा सुन लुकाएर ल्याइएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहलु महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए।
