काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा लगानीयोग्य वातावरण निर्माण गर्न सरकार दृढ रहेको जानकारी दिएका छन्। नेपाल अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन्।
उनले कर सम्बन्धी कानुनमा देखिएका अस्पष्टता हटाइने, नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने र लगानीकर्ताले लगानी स्वीकृत गराउँदा र व्यवसाय बन्द गर्दाका प्रक्रिया सजिलो पार्ने लगानीकर्तालाई विश्वास दिलाए।
उक्त अवसरमा विभिन्न कम्पनीका प्रतिनिधिहरुले नेपालमा कर कानुन र अन्य नियमनकारी निकायका कतिपय निर्णय र प्रावधानले लगानीकर्ताहरुलाई असहज बनाएको बताएका थिए।
अर्थमन्त्री खनालले कर कानुनका विषयमा आर्थिक ऐन तर्जुमा हुने क्रममा पर्याप्त छलफल गरी टुंगो लगाइने र अन्य विषयमासमेत पर्याप्त अनुसन्धान र विकासका माध्यमबाट नीतिगत र कानुनी सुधार गरिने बताएको अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव टंकप्रसाद पाण्डेले जानकारी दिए।
छलफलमा उनले वर्तमान सरकार व्यवसायिक वातावरण सुधारका लागि गर्नुपर्ने संस्थागत र प्रक्रियागत सुधारका कार्यलाई तीव्रता दिन र कानुनी सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको जानकारी दिएका थिए।
अर्थमन्त्री खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकाको वासिङटन डीसीमा छन्, उनले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र मुद्रा कोषको उपप्रवन्ध निर्देशक बो लीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए।
विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन जी समुहको प्रदर्शनपछि बनेको सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनुका अतिरिक्त सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्नु भएको बताए।
साथै उनले वर्तमान सरकार व्यवसायिक वातावरण सुधारका लागि गर्नुपर्ने संस्थागत र प्रक्रियागत सुधारका कार्यलाई तीव्रता दिन र कानुनी सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको बताएका थिए।
विश्व बैंक समुहले नेपालको विकास प्रयासमा गरिरहेको सहयोग प्रति धन्यावाद व्यक्त गर्दै आगामी दिनमा बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरे। सो अवसरमा विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डे अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक भएको उल्लेख गर्दै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए।
मुद्रा कोषका उपप्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले नेपालको आर्थिक सुधारमा गरेको सहयोग र सहकार्य प्रति धन्यवाद दिए। मन्त्री खनालले मुद्रा कोषसँगको सहकार्यमा संचालित विस्तारित कर्जा सुविधासम्बन्धी बाँकी सुधारका कार्यलाई अघि बढाइने र आगामी दिनमा कोषसँगको सहकार्य मजबुत बनाइने उल्लेख गरे।
मुद्रा कोष उपप्रवन्ध निर्देशक बो लीले विस्तारित कर्जा सुविधाको छैठौं समीक्षा सफलतपूर्वक सम्पन्न भएकोमा बधाई दिदै आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने जानकारी गराएका थिए। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको उपस्थिति थियो।


