काठमाडौं। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि खुम्चिएको छ। साउन र भदौमा ४९ अर्ब २४ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ।
समीक्षा अवधिमा गत वर्षको यसै अवधिको तुलनामा ०.९ प्रतिशत मात्र बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १.४ प्रतिशत अर्थात ७३ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। (वार्षिक विन्दुगत आधारमा २०८२ भदौमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.८ प्रतिशत बढेको छ।
गत भदौसम्म ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।कर्जा विस्तार गर्न राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिएको छ। लचिलो मौद्रिक नीतिले पनि कर्जा लगानी बढ्न सकेको छैन्।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैैंकले १२ प्रतिशत कर्जा बढ्ने प्रक्षेपण गरेको छ। लक्ष्य पुरा गर्न चालू आर्थिक वर्षमा झण्डै सात खर्ब रुपैयाँ कर्जा प्रवाह हुनपर्नेछ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ र ३६ प्रतिशत थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ र वित्त कम्पनीहरूको ०.८ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.१, घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ।
आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फमा २.६, औद्योगिक उत्पादनमा १.९, उपभोग्य क्षेत्रतर्फ १.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १ र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ १.० प्रतिशत कर्जा बढेको छ।
सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशत घटेको छ। प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ६.७, मार्जिन प्रकृतिको ३.५, क्यास क्रेडिट १.७, आवधिक १.१, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.८ र हायर पर्चेज कर्जा ०.५ प्रतिशत बढेको छ भने अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा ३.६ प्रतिशत घटेको छ।


