काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशन मंसिर २७, २८ र २९ गते गर्न प्रस्ताव गरेका छन्। बुधबारको केन्द्रीय कमिटी बैठकमा ओलीले पोखरामा मंसिर २७-२९ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
ओलीको उक्त प्रस्तावमाथि छलफल गरेर केन्द्रीय कमिटीले निर्णय गर्नेछ। केन्द्रीय कमिटी बैठकपछि मात्रै महाधिवेशनको मिति औपचारिक रूपमा टुंगो लाग्नेछ।
बुधबारको बैठकमा प्रतिवेदन पेस गर्दै ओलीले गत भदौ २३-२४ गते जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले २३ गतेको शान्तिपूर्ण आन्दोलनका क्रममा विभिन्न अपरिचित, शंकास्पद र हिंस्रक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुऱ्याइएको र त्यसो गर्न भड्काइएको बताएका छन्।
‘संसद् भवनमाथि आक्रमण, गोलीप्रहार र हत्या… भदौ २३ गते माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित, शंकास्पद र हिंस्रक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुऱ्याइएको र त्यसो गर्न भड्काइएको यथार्थ विभिन्न तथ्यहरू मार्फत् बाहिर आइसकेको थियो,’ ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तो स्थिति कसरी सिर्जना भयो? सम्भाव्य घुसपैठको आंकलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो? यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहित थिए? त्यति ठुलो सङ्ख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई कानुन दण्डित गर्नु जरुरी छ।’
उनले २४ गतेको तोडफोड र विध्वंस लामो तयारीसहितको सुनियोजित आक्रमण भएको आरोप लगाएका छन्। जसको उद्देश्य सरकार परिवर्तन गर्ने मात्र नभई मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई नै समाप्त पारेर मुलुकलाई भूराजनीतिक भुँवरीमा फसाउने, मुलुकको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने भएको उनले बताएका छन्।
यसैगरी उनले आफूले संसद् भित्रबाट नयाँ सरकार बनाउन सिफारिस गरेको भन्दै उनले अहिलेको सरकार त्यसभन्दा उल्टो संविधानविपरीत बनेको बताएका छन्।







