काठमाडौँ: पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमामाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। संगठित सुन तस्करी मुद्दामा बुधबारको थुनछेकपछि न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो।
आदेशपछि महरालाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको प्रहरीले जनाएको छ।
२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको प्रकरणमा संलग्नता रहेको आरोपमा महरा गत आइतबार दोस्रोपटक पक्राउ परेका थिए। उक्त प्रकरणमा महरामाथि महराविरुद्ध भन्सार छली र संगठित अपराधको मुद्दा छ। उनी यसअघि यसै मुद्दामा पक्राउ परी २०८० चैतमा कागज गरेर थुनाबाहिरबाट पुर्पक्षमा थिए।
महराको सम्बन्ध सुन तस्करीमा नाम जोडिएका चिनियाँ नागरिक दवजिनसँगको सम्पर्क र पारिवारिक भई व्यवसायिकसरह देखिएको थियो। सोही क्रममा मिलेमतो र सरसल्लाहमा ईसिगरेट (भेप) मार्फत सुनको भन्सार चोरी पैठारीमा संलग्न रहेको अभियोग महरामाथि छ।
दावाजिङ वाङ, महरा महराका छोरा राहुल र बुहारी विमलाबिच पटक पटक दावाजिनसँग कुराकानी भएको अनुसन्धानका क्रममा देखिएको थियो। २०७९ फागुन ११ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखको संयोजकत्वमा भएको मूल्यांक समितिले ४ लाख ११ हजार रुपैयाँ बराबरको भेप अवैध माध्यमबाट आएको भनी जफत गर्ने निर्णय गरेकोमा महराले भन्सार प्रमुख अरुण पोखरेललाई आफैँले फोन गरेर र छोरा राहुललाई भन्सारमा पठाएर भनसुन गरी छुटाउन खोजेको आरोप महरामाथि छ।
यसबाट अत्याधिक र अस्वभाविक चासो रहेकोले आरोपित कसूरमा संलग्न देखिएको कुरालाई नै समर्थन गर्ने अदालतको आदेशमा भनिएको छ। महरा आफैँले अदालतमा गरेको भन्सार प्रमुखलाई फोन गरेको स्वीकारोक्ति बयान, घटना विवरण कागज गर्ने अरुण पोखरेल समेतले गरिदिएको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणका आधारमा महरा निर्दोष भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार रहेको आधार देखिने आदेशमा भनिएको छ।
थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी अहिलेलाई थुनुवा पुर्जा दिई थुनामा राख्न अदालतले आदेश गरेको छ।


