काठमाडौँ: हुम्लामा निजी क्षेत्रबाट ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अगाडि बढाइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो। आयोजना बनाउन ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ खर्च हुने अध्ययनले देखाएको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख बराबर रहेको छ।
आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा रहेको छ। वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको छ।
आयोजना निर्माणका लागि कूल ४७.१३ हेक्टर जमिन आवश्यकता पर्ने देखिएको छ। विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रही आएको छ। सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ।
कर्णालीमा ५७० मेगावाटका दुई ठूला आयोजना बनाउँदै रुरु जलविद्युत परियोजना
नदी प्रवाहमा आधारित उक्त आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख जलविद्युत परियोजना हो। बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो।
आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेण्ड रहेको छ भने आयोजनामा दुई वटा डाइभर्सन सुरुङ निर्माण हुने भएका छन्। डाइभर्सन सुरुङको लम्बाई पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर रहनेछ। डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ।
आयोजनाबाट सुक्खायामका छ सय नौ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा एक हजार एक सय ८४ दशमलव ८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिने भएको छ। आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् । यस्तै एक सय ८८ वटा रुख कटान गर्नुपर्ने भएको छ।


