काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। कार्कीले डा. सुधा शर्मा गौतम, खगेन्द्र सुनार, गणपति लाल श्रेष्ठ र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी हुन्।
मन्त्री बन्न लागेकी शर्मा स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। उनका ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक सार्वजनिक छन्। सुनार दलित अभियन्ता हुन्। यस्तै श्रेष्ठ सम्पदा संरक्षक अभियन्ता र गुप्ता कोरोना महामारीको समयमा नि:शुल्क खाना अभियान चलाएका अभियन्ता हुन्।
नयाँ थपिने मन्त्रीको शपथ दिउँसो साढे २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भैरहेको छ।
यसअघि कार्की मन्त्रिमण्डलमा ८ सदस्य रहेकोमा नयाँ मन्त्रीहरू थपिएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुग्नेछ। प्रधानमन्त्री कार्कीले यसअघि नै मन्त्रिपरिषद् अधिकतम् १२ सदस्यीय बनाउने घोषणा गरेकी थिइन्।


