काठमाडौँ: सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा उद्योग वाणिज्य संघका प्रतिनिधिसहित बैठक आयोजना गरी आवश्यक समन्वय गर्न निर्देशन दिएपछि नेपाल उद्योग वाणिज्य महासंघले उक्त निर्णय गरेकोमा गृह मन्त्रालयप्रति आभार प्रकट गरेको छ।
गृह मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयमा पठाएको परिपत्रअनुसार व्यवसायिक वातावरण सुदृढ बनाउन अब जिल्ला सुरक्षा सम्बन्धी बैठकहरूमा उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको पनि प्रत्यक्ष सहभागिता हुनेछ।
महासंघका आग्रहपछि आएको यो निर्णयलाई निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिको दृष्टिले महत्वपूर्ण कदमका रूपमा लिँदै महासंघले गृह मन्त्रालयप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। महासंघले यसअघि कात्तिक २ गते गृह मन्त्रालयलाई पत्राचार गरी केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा उद्योग वाणिज्य संघका अध्यक्ष वा प्रतिनिधिलाई समावेश गर्न आग्रह गरेको थियो।
महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठका अनुसार यस निर्णयले व्यवसायीको मनोबल उच्च बनाउने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। ‘यस निर्णयबाट व्यवसायीको मनोबल बढ्ने र सरकार–निजी क्षेत्रबीचको सहकार्य अझ सहज हुने विश्वास हामीले लिएका छौँ,’ उनले भने।
महासंघले साथै देशभरका जिल्लास्थित उद्योग वाणिज्य संघहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी निर्णय कार्यान्वयनका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको छ।


