काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई आगामी साधारण सभासम्मको लागि निलम्बन गरेको छ। शुक्रबार भर्चुअल रुपमा बसेको एन्फाको आपतकालिन बैठकले खड्कालाई निलम्बन गरेको हो।
एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गको नेतृत्वमा बसेको आपतकालीन बैठकमा संघका वरिष्ठ उपाध्यक्ष खड्कामाथि संघको लेटरहेड, छाप र चलानी नम्बरको दुरुपयोग गरी महासचिवविरुद्ध दुष्प्रचार, पत्रकार सम्मेलनमार्फत निराधार आरोप र गालीगलौज तथा सी डिभिजन क्लबहरूमाथि प्रमाणविहीन खेल मिलेमतोको आरोप लगाएको ठहर गरिएको छ।
बैठकले खड्काको यी कार्यहरू संघको विधान धारा ३८ को १४ अनुसार अनुशासन उल्लंघन हुने देखाएर उनलाई निलम्बन गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिएका छन्।
एन्फा कार्यालय, सातदोबाटो, ललितपुरबाट जारी प्रेस नोटमा भनिएको छ कि निलम्बन आदेश आगामी साधारण सभा नहुँदासम्म लागू रहनेछ।



