काठमाडौँ: चार दिनदेखि रोकेको फोहोर व्यवस्थापन आजबाट पुनः सुरु भएको छ। सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान वञ्चरेडाँडा पुगेपछि स्थानीयवासीले आन्दोलन स्थगित गर्ने निर्णय गरेका हुन्।
मन्त्री घिसिङले वञ्चरेडाँडा र ककनीका जनप्रतिनिधिसँग छलफल गर्दै, अघिल्ला चरणमा भएका सम्झौताहरू १५ दिनभित्र कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्रीले ढिलाइका कारण स्थानीयमा उत्पन्न असन्तुष्टि बुझ्दै अबका १५ दिनभित्र माग पूरा गर्ने ग्यारेन्टी हामी लिने बताएका छन्।
सहमति कार्यान्वयन नभए विरोध गर्ने अधिकार स्वाभाविक हुने आश्वासन मन्त्री घिसिङले दिएका थिए।
स्थानीयवासीले पछिल्ला वर्षहरूमा बारम्बार गरिएको सम्झौता नपुगेको भन्दै फोहोर फाल्न रोक लगाएका थिए । मन्त्री घिसिङको प्रत्यक्ष हस्तक्षेपपछि आजदेखि सिसडोल–वञ्चरेडाँडा क्षेत्रमा फोहोर ढुवानी खुला भएको हो ।







