काठमाडौँ: नेपाल राष्ट्र बैंक र भारतीय रिजर्ब बैंक बीचको संयुक्त प्राविधिक समन्वय संयन्त्र संयुक्त प्राविधिक समन्वय समिति(जेटीसीसी)’को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र प्राविधिक समाधानका लागि ‘जेटीसीसी’ प्रभावकारी संयन्त्रको रूपमा स्थापित भएको बताए।
उनल दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उद्घाटन सत्रमा डेपुटी गभर्नर बमबहादुर मिश्रको पनि उपस्थिति रहेको थियो। भारतीय रिजर्ब बैंकका कार्यकारी निर्देशक तथा ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीले संयन्त्र स्थापना भएदेखि नै मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी प्रणालीको सहजीकरणमा उल्लेखनीय प्रगति भएको बताउनुभयो। उनले आगामी दिनमा दुवै देशबीचको मौद्रिक सहकार्य थप सबल र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।
नेपाल राष्ट्र बैंकका तर्फबाट ‘जेटीसीसी’ संयोजक तथा कार्यकारी निर्देशक राजन विक्रम थापाले स्वागत मन्तव्य दिँदै द्विपक्षीय हित प्रवर्द्धनका लागि संयन्त्रलाई अझ सार्थक र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका अधिकारीबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण, मौद्रिक नीति, तरलता व्यवस्थापन र विदेशी विनिमय नीति सम्बन्धी एजेन्डामा विस्तृत छलफल गरिएको थियो। साथै, अघिल्लो बैठकमा छलफल भएका विषयहरूको कार्यान्वयन अवस्थाको समीक्षा पनि गरिएको थियो।
बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू रेवती प्रसाद नेपाल, विश्रुत थापा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा रामशरण खरेल, डा डिल्लीराम पोख्रेल, निश्चल अधिकारी लगायतको सहभागिता रहेको थियो। आरबीआई तर्फबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धक लथा राधाकृष्णन, सास्वत कुमार महापात्र र प्रबन्धक अपर्णा वकिल उपस्थित थिए।
बैठकपश्चात् कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकासक्रम विषयक प्रस्तुति दिएका थिए।


