कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद कुन्दन काफ्ले विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। कुनै बेला नेता गगन थापाका प्रतिवद्ध सहयोगी काफ्लेले अहिलेको सामयिक पार्टी सन्दर्भमा नेपाल क्लिक्स प्रतिनिधिसँग गरेको कुराकानीको सम्पादित सामग्री:
नेपाली कांग्रेसको केन्द्रीय सदस्य तपाईँ। यतिबेला कांग्रेसले परिवर्तन खोजिरहेको छ। रुपान्तरण खोजिरहेको छ। महामन्त्रीहरु विशेष महाधिवेशन भनिरहनुभएको छ। तपाईँ त उल्टो गंगा बगाउँदै हुनुहुन्छ। किन हो?
– गंगा सुल्टै बगिरहेको छ। मलाई कतिपय साथीहरुले महामन्त्रीहरुसँग यसले राजनीतिक पङ्गा लियो भनेर ट्रोल पनि गरिरहेका छन्। तर व्यक्तिगत रुपमा उहाँहरुसँग कुनै बैरभाव छैन। उहाँहरूप्रति मेरो सधै सम्मान छ। एउटा केन्द्रीय सदस्यका रुपमा म पार्टी नेतृत्वपंक्तीलाई सधैं सम्मान गर्छु। तर पार्टी क्रियाकलापमा अहिले गम्भीर अन्तर्विरोधहरु देखापरेका छन्। मतभेद उत्पनन भएका छन्। महामन्त्रीहरु विशेष महाधिवेशन भन्ने एउटा रटानमा हुनुहुन्छ। उहाँहरु अरुलाई दोषारोपरण गर्ने र प्रश्न मात्र गर्ने अवस्थामा देखिनुभएको छ। यस्तो बेला मेरो भनाइ के हो भने– यस्तो जटिल र संवेदनशील अवस्थामा प्रश्नले जिज्ञासु त बनाउला तर जवाफले मात्र हामीलाई जिम्मेवार बनाउँछ। जवाफ त हामी काँग्रेसी सबै मिलेर तयार पार्नुपर्छ।
उहाँहरु पनि प्रश्नको घेरामा त हुनुहुन्छ नि। प्रश्नदेखि टाढा हुनुहुन्न उहाँहरु। प्रश्नबाट भाग्न पनि पाउनुहुन्न। उहाँहरुले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ। बल्ल सन्तुलित रुपमा दलभित्र निकासको वातावरण तय हुन्छ।
अघिल्लो महाधिवेशनले उहाँहरुलाई महामन्त्रीमा चयन गरेपछि उहाँहरुले आफ्नो काम, कर्तव्य र अधिकार अथवा ‘टिओआर’ भनौ न, कति पुरा गर्नुभयो भनेर कसैले प्रश्न गरेको छैन। सभापतिले पनि महामन्त्रीलाई यस्तो प्रश्न गर्नुभएको देखिदैन। सामान्य कार्यकर्ताले पनि प्रश्न गरेको छैन। तर प्रश्न त उठ्छ। उहाँहरुले महामन्त्रीका रुपमा पार्टीका लागि के के काम गर्नुभयो भन्ने प्रश्न गर्ने कि नगर्ने? अरुलाई प्रश्न गर्नेले आफूले पनि राजनीतिक प्रश्न फेस गर्नुपर्छ। मेरो भनाइ यही हो।
ए, त्यसो भए तपाईँ पनि प्रश्नकै झोला बोकेर हिँडिरनुभएको छ। उहाँहरुले त ‘रिफर्म’को कुरा गरिरहनुभएको छ। तपाईँका प्रश्न के हुन् त्यस्ता?
– काँग्रेस जस्तो मासबेश पार्टी त्यत्तिकै बन्दैन। महामन्त्रीहरु आफैले पार्टी ‘रिफर्म’को कुरा गरिरहनुभएको छ। त्यो पनि अघिल्लो महाधिवेशनअघिदेखि नै पाटीमा पुस्तान्तरण र रिफर्मको कुरा उहाँहरुले गरिरहनुभएको हो। उहाँहरुका त्यही एजेण्डालाई कांग्रेस महाधिवेशन प्रतिनिधीले पत्याएर उहाँहरुलाई मत दिएका हुन्। जिताएका हुन्। तर पार्टी ‘रिफर्म’का लागि उहाँहरुले के गर्नुभयो? यही प्रश्न अहिले अहम् बनेको छ।
संसारका सबै दलहरुका नीतिहरु हुन्छन्। संगठनको काम हुन्छ। र, पार्टीका कार्यक्रमहरु पनि हुन्छन्। संगठन, नीति र कार्यक्रमले दल बन्ने हो। हाम्रा महामन्त्रीहरुले पार्टीको नीतिगत सुधार कहाँ कसरी गरे? संगठनमा सुधार कहाँ कसरी गरे? र, पाटीलाई जीवन्त बनाउन कहाँ के कार्यक्रम गरे? कति कार्यक्रम गरे? यसको जवाफ हो हामीले खेजेको।
अरु कुरा छोड्दिनुहोस्– महामन्त्रीहरुले गोदावरी महासमिति बैठकमा पेश गरेको दस्तावेजको हालत अहिले कस्तो छ? सायद त्यो पनि अलिक अस्तिको वितण्डामा जलिसक्यो होला। दललाई जीवन्त बनाउन भनेर पेश गरिएको त्यो डक्युमेन्टमा काम गर्न उहाँहरुलाई कसले रोक्यो? मलाई लाग्दैन, सभापतिले उहाँहरुलाई पार्टीको संगठन गर्न रोक्नुभयो। न त हामी जस्ता कार्यकर्ताले रोक्यौं। उहाँहरुलाई साथ दिएकै हो त।
नीति–कार्यक्रमका कुरा मात्र होइन, व्यवहार पनि हेरौं न। एमालेसँग मिलेर सरकार बनाउनु हुन्न पनि भन्ने तर त्यही सरकार सञ्चालनको संयन्त्रमा पनि बस्ने। भातृ संगठन, समिति र विभाग सबैतिर भागवण्डमा काँही पनि नछोड्ने। आफ्नो हिस्साबाट मन्त्रीमण्डलमा मन्त्री पनि नभइनहुने तर पानी माथिको ओभानो बनेर कसमाथि प्रश्न गर्ने? फेसबुकको आँगनमा उफ्रेर मात्र पार्टी रिफर्म हुने हो र? पाटीलाई एकताबद्ध बनाएर लैजादा मात्र पार्टीले शक्ती आर्जन गर्छ। यो बेला पार्टिको घर जलेको छ। पार्टी संकटमा छ। कार्यकर्ताको मनोवल गिरेको छ। घरबनाउने, पार्टी बनाउने कुरा भए म उहाँहरु संगै हुन्छु। तर प्रश्न मात्रै गरेर भाग्ने पाइँदैन।
महामन्त्रीहरु उल्लटोबाटो हिड्नु भएको छ। पार्टी एकतावद्ध हुने गरी समूह बनाउन पनि मिल्छ। नीती कार्यक्रम र संगठनमा उर्जा खडा गरेर पो महााधिबेशन गर्नु, पर्छ। संकट खडा गरेर अधिवेशन हुन्छ त?
त्यसो भए तपाईँ विशेष महाधिवेशनको विपक्षमा उभ्निुभयो। किन यस्तो भयो, कुनै बेला त गगन थापा मेरो नेता भन्दै हिँड्नुहुन्थ्यो तपाइँ।
-हाहा। अहिले पनि गगन दाइ मेरो नेता हो। उहाँ मेरो पार्टीको महामन्त्री हो। तर मतभेदको कुराले पनि एउटा डेमोक्रेट दलमा अर्थ राख्छ। अर्को कुरा, म महाधिवेशन विरोधी पनि होइन। समयमा महाधिवेशन हुनुपर्छ भन्ने नै हो। मैले यसबारे क्लियर कुरा राखेको पनि छु। तर विशेष महाधिवेशनका नाउँमा पार्टीलाई थप जटिल मोडमा उभ्याउँदा दल कमजोर हुने र कार्यकर्ताहरु विभाजित हुने जोखिमको बाटो नहिँडौं भन्ने तर्क हो मेरो।
अहिले पार्टीका यावत् विषयमा प्रश्न उठ्दा महामन्त्रीले पनि जवाफ दिएर मात्र अधिवेशनमा जानुपर्छ। रेगुलर महाधिवेशन नै सम्मुखमा छ भने विशेषको कथा नचाहिएको हो। जुनसुकै महाधिवेशनकै मुखमा त प्रश्न उठ्छन्। तिनको जवाफ नदिई महाधिवेशनमा जान मिल्छ त? गगन दाइ अबको पार्टी सभापतिको दावेदार हो भन्ने मैले सुनेको छु। उहाँलाई एउटा राजनीतिक प्रश्न सोधिदिनुहोला, के उहाँ जवाफवाट भागेर सभापति वन्नुहोला त? मैले नीतिगत ‘रिफर्म’ यो गरेँ, साँगठनीक ‘रिफर्म’ यो गरेँ, पार्टीलाई जीवन्त बनाउन कार्यक्रम यो यो गरेँ र दललाई बलियो बनाएँ भनेर जवाफ त पेश गर्नुपर्ला नि त। कार्यकर्ता तथा शुभेच्छुकलाई कन्भिन्स त गर्नुपर्ला नि त। त्यसै कोरा योजना र सपना बाँढेर सभापति पदमा जाने योग्यता त बन्दैन होला। चौधौं महाधिवेशनले उहाँहरुको दावा र इच्छा बमोजिम महामन्त्री निर्वाचित गरेको हो नि। महामन्त्रीकका रुपमा उहाँहरुका ‘टिओआर’को राजनीतिक ‘अडिट’ हुनुपर्ला नि त। पार्टीभित्रका साथीहरुले यो पक्ष पनि मनन गर्नुहोला। आफूले परीक्षा नै नदिने अनि अरुको अंक खोज्दै जाने त?
अहिल पार्टी संकटको बेलामा त जिम्मेवारिमा वसेका महामन्त्रीहरुले ‘ब्ल्याक एण्ड ह्वाइट’ कुरा गर्ने हो। दोधारे कुरा गर्ने होईन। बोली, ब्यवहार र अपेक्षा एउटै हुनुपर्छ, त्यो नभए त्रिवेणिमा रुमल्लिने मात्र हो, गन्तव्यमा पुग्न सकिदैन। पार्टी रिफर्म गर्नु भनेको पार्टीलाई जटिल अवस्थामा लानु होईन। पार्टीलाई शक्तिशाली बनाउने मोडमा लानु हो।
जेनजी पुस्ताको त्यत्रो आन्दोलन भयो। काँग्रेस नसुध्रने नै भयो होइन त? कि के हो?
–हो, आन्दोलन भयो। जनधनको क्षति भयो। आन्दोलन र अहिलेको सरकारका विषयमा मलाई धेरै बोल्नु छैन। सरकारले आफ्नो काम गरोस्, निर्वाचन गराओस्। तर जेनजी पुस्ताले चाहेको भ्रष्टाचार निर्मुल पार्ने कुरा हो, अभिव्यक्ती स्वतन्त्रताको कुरा हो। साँच्चै भन्ने हो भने नयाँ पुस्ताको भावना बुझ्ने पाटी भनेको काँग्रेस हो। यसमा कसैले विवाद नगरे हुन्छ। जेनजीको भावना र सपना बोक्ने पार्टीनै नेपाली कांग्रेस हो।
एउटा उदाहरण दिउः एकपटक काठमाडौंका मेयर बालेन शाहले सिंहदरबार जलाइदिन्छु भनेर फेसबुकमा लेखेपछि हाम्रो सभापतिले नै भन्नुभएको हो कि होइन, अभिव्यक्ती स्वतन्त्रतामा कारवाही गर्नुहुन्न भनेर। त्यो बेलाका प्रधानमन्त्री प्रचण्डले यसबारे चासो राख्दा शेरबहादुर देउवाले यसो नगरौं भनेको कुरा त सार्वजनिक भएकै हो। त्यसरी नै फेसबुक लगायतका सामाजिक सञ्जाल माथि प्रतिवन्ध लगाएको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रताकै सम्मान गर्दै त्यसलाई खुल्ला गर्न आग्रह पनि काँग्रेसले गरेको हो।
अर्को कुराः भ्रष्टाचारका विषयमा काँग्रेसले कहिँकतै अवरोध गरेको रेकर्ड छ? बरु काँग्रेसले आफ्ना कतिपय नेताहरुलाई भ्रष्टाचारको मुद्धामा गुमाएको रेकर्ड छ। खुमबहादुर खड्का, गोविन्दराज जोशी, जेपी गुप्ता जस्ता नेताहरुमाथि मुद्धा चल्दा हामी केही बोल्यौ? बरु पाटीले अनुसन्धानलाई सघाएको छ। सहयोग गरेको छ। त्यसैले नयाँ पुस्ताका भाइबहीनीको भावना र सपना बुझ्न हामी सधैं तयार छौं।
अहिले पनि रेगुलर महाधिवेशन गरेर तल्लो तहदेखि नयाँ पुस्ताका प्रतिनिधिलाई स्थान दिने, उनीहरुको मनोभावना समेट्ने बाटोमा हामी हिँड्नुपर्छ। हामी आफैं कलिलो उमेरदेखि विद्यार्थी राजनीति गरेको आएको व्यक्तिले नयाँ पुस्तालाई अपमान गर्ने, किनारामा पार्ने भन्ने कुरै आउँदैन।
विशेष अधिवेशन भएन भने काँग्रेस विभाजन हुन्छ भन्ने पनि हल्ला छ नि? नेपालमा कम्युनिस्टहरुको गठन–पुनर्गठन चलिराखेको छ।
-यस्तो वाहियात कुरा कसले गरेको हो मलाई थाहा छैन। यस्तो गर्नुपनि हुँदैन। काँग्रेसभित्र कसैले पनि यस्तो नकारात्मक कुरा गरेको मलाई थाहा छैन। बरु महामन्त्री विश्वप्रकाश दाइले पार्टी विभाजन हुँदैन भनेर कता लेखेको देखेको थिएँ मैले। महामन्त्रीले पार्टी विभाजन हुँदैन भनेर आश्वस्त पार्ने अवस्था किन र कसरी आयो त्यो चाहिँ गम्भिर कुरा हो भन्ने लाग्छ मलाई। दल कमजोर भएका बेला, कार्यकताको मनोबल कमजोर भएका बेला र पार्टी संवेदनशील मोडमा पुगेका बेला एकतावद्ध हुने कुरा गर्ने हो। एकजुट हुने कुरा गर्ने हो। बहस नै गर्न परे स्वस्थ बहस गर्ने हो। सबै मिलेर समस्याको समाधान निकाल्ने हो।


