काठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू एमालेमा प्रवेश गर्न नलागेको भई घर फर्किन लागेको बताएका छन्। बुधबार बिहान नेकपा एसकी नेता रामकुमारी झाँक्रीसहितले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बिना सर्त स–सम्मान एमालेमा फर्किन लागेको बताउँदै त्यो वातावरण बनाइदिन आग्रह गरे।
चार वर्षअघि जानेर/नजानेर एमालेबाट विद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन गरेकोमा अब सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहेको उनको भनाइ छ।
‘एमालेमा विद्रोह गरेर समाजवादी स्थापना गरेर करिब ४ वर्ष अगाडि बढ्यौाँ। त्यही क्रममा एकीकृत समाजवादीले नेकपा माओवादीसहितसँग पार्टी एकताको निर्णय हाम्रा पार्टीका महासचिव सम्मानीत नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रियामा हामी नेकपा एमालेमा प्रवेश हैनऽ घर फर्किने अभियानका रूपमा… घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ,’ उनले भने।
देशभरिका नेता तथा कार्यकर्तालाई पनि उनले एमालेमा फर्कन आह्वान गरे। उनले एमालेमा फर्किन लागेको कुनै पदका लागि नभएको पनि बताए। एमाले नेतृत्वले हाँसेर बोलिदिए आफूहरूलाई पुग्ने उनको भनाइ थियो।
‘यो भ्रम नपरोस् सशर्त फर्किने कार्यक्रम छैन। निसर्त, स–सम्मान घर फर्किन लागेका हौँ,’ उनले भने, ‘हामीलाई केही चाहिएको छैन। हाँसेर बोलिदिए पुग्छ। त्यसअनुसार वार्ता संवाद गर्छौँ।’


